कांग्रेस जिल्ला सभापतिको कम्पनी सिद्धिसाईको ठेक्का जताततै अलपत्र

हेलोखबर विशेष
कांग्रेस डोल्पा सभापति हुन् दिपेन्द्र शाही । उनी नेता मात्र हैन निर्माण व्यवसायी पनि हुन् । उनको कम्पनी सिद्धिसाई हो ।

धेरैलाई लाग्न सक्छ कांग्रेस नेताले लिएका ठेक्का त समयमा नै बनेका होलान् भन्ने । तर, व्यवहार ठिक उल्टो छ । उनले लिएका ठेक्काका फेहरिस्त पल्टाउने हो भने जताततै अलपत्र भेटिन्छ । पूर्वदेखि पश्चिमसम्म नै उनले ठेक्का लिने र अलपत्र पार्ने काम गर्दै आएका छन् ।

पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाले गत १६ गते एक सूचना जारी गर्दै उनै शाहीको कम्पनी सिद्धिसाई जे.भीलगायतलाई ठेक्का अन्त्य गरी कारबाही किन नगर्ने भनेर ताकेता गरेको छ । यो त एउटा पछिल्लो उदाहरण मात्र हो ।

सरकारले ताकेता गर्ने, ठेक्का तोड्ने तर अदालत जाने र पहुँच र पावरमा ठेक्का लिएर अलपत्र पार्ने शाहीका लागि सामान्य जस्तै बनेको छ ।
सिद्धिसाईसहित भारत कन्स्ट्रक्सनरमैनाचुली जेभीले मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत खोटाङको चखेवा—सेखुवा सडकको १० किलोमिटर सडकको ठेक्का लिएर सात वर्ष अलपत्र पारेर कम्पनी हिडेको छ ।

सिद्धिसाईले निर्माण अलपत्र पारेका सडक आयोजना निम्न छन्

हुलाकी सडकः
हुलाकी राजमार्ग अन्तर्गत गढवा–कालाकाटे सडकमा करिब २० किलोमिटर सडक निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र परेको छ। करिब ९ किलोमिटर सडकमा मात्र कालोपत्रे गरिएको भए पनि बाँकी खण्डमा ग्राभेल गरिएको छ।

ठेकेदार कम्पनीले समयमै काम गर्न असफल भएपछि ठेक्का रद्ध गर्ने प्रक्रियासमेत अघि बढाइएको छ। पछिल्लो अवस्थामा हुलाकी सडकको गंगदीदेखि सिक्टासम्म करिब २५ किलोमिटर सडक पनि ठेकेदारको काम नगर्ने कारण अलपत्र परेको छ।

गलेश्वर–पिप्ले–भगवती हुँदै बेगखोला सडक

मकवानपुर जिल्लामा पर्ने यो सडक योजना ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र रहँदा तीन वर्षदेखि काम रोकिएको छ।

बेनी–लाम्पाटा–दरबाङ सडकः
म्याग्दी जिल्लामा पर्ने यो सडक स्तरोन्नतिको काम तीन वर्षदेखि अलपत्र छ। ठेकेदार कम्पनीले सम्पर्कमा नआएपछि काम रोकिएको छ।

पोखरा–मुग्लिन तथा मुग्लिन–नागढुंगा सडक विस्तारः

ठेकेदार कम्पनीको सुस्त कार्यशैली, डिजाइन त्रुटि, बिजुली पोल सार्ने र रूख काट्ने अनुमतिको लम्बेतान प्रक्रियाका कारण सडक विस्तार प्रोजेक्टहरू अलपत्र छन्।

चाबहिल–जोरपाटी–साँखु सडकः
याे सडक ८ वर्ष बढीदेखि अलपत्र रह्याे ।

राष्ट्रिय गौरवको आयोजनामध्येकै मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बाग्लुङ–घोडाबाँधे सडकको काम पनि सिद्धिसाईले अलपत्र छाडेको पाइएको छ। उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको हो।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम पनि अलपत्र रहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।