ट्राफिकको दोहोरो नियमः एउटै गल्ती तर, गाडीलाई छुट बाइकलाई चिट

लेन क्रस गरेको अवस्थामा कार र दोस्रोमा लेन क्रस गरेको मोटरसाइकललाई कारबाही गर्दै ट्राफिक प्रहरी ।

समय १०ः४५ बजे, मिति २०८२/१०/८ गते बिहीबार । थापाथली चोकमा ट्राफिक नियम कार्यान्वयनमा ठूलालाई चैन सानालाई ऐन भनेझै विभेद र मनलाग्दी भएकाे पाइएकाे छ ।

थापाथली चोकमा ०२३ च ५१२१ नम्बरको सेतो हुन्डाई क्रेटा कार लेन बाहिरबाट आउँदै ट्राफिक नियम विपरीत जबर्जस्ती लेनभित्र प्रवेश गरेको थियो। लेन क्रस गरेको उक्त घटना एक महिला ट्राफिक प्रहरीकै अगाडि भइरहेको थियो।

लेन क्रस गरिरहेको अवस्थामा कार, तर देखेर पनि ट्राफिक प्रहरीले कुनै कारबाही गरेन ।

कारले नियम उल्लंघन गरेपछि ती महिला ट्राफिक प्रहरी गाडीको अगाडि पुगेर लेन नियम उल्लंघन गरेको भन्दै चालकलाई सचेत गराउँछिन्। तर, उनले गाडीलाई चिट काटेर कारबाही गर्ने आँट भने गरिनन्। त्यसपछि उनले आफूभन्दा सिनियर ट्राफिक प्रहरीलाई उक्त घटनाबारे रिपोर्टिङ गर्दै लेन क्रस भएको जानकारी गराइन्। तर, फिल्डमा खटिएका सिनियर ड्युटी अफिसरले समेत नियम उल्लंघन गर्ने कारलाई कारबाही गर्न कुनै चासो देखाएनन्।

यसैबीच, हरियो बत्ती बल्छ। लेन क्रस गरेको कारले बाटो रोकेपछि त्यसलाई ओभरटेक गर्दै अघि बढ्दा ०६० प ३४०१ नम्बरको मोटरसाइकलले पनि लेन क्रस गर्छ।

तर, कारलाई कारबाही नगरेको ट्राफिक प्रहरीले सो मोटरसाइकललाई भने तत्कालै नियन्त्रणमा लिन्छ। क्षणभरमै मोटरसाइकल चालकलाई चिट काट्दै कारबाही प्रक्रिया अघि बढाइन्छ।

लेन क्रस गर्ने कारलाई बेवास्ता र मोटरसाइकललाई तुरुन्त कारबाही गरिएको यस घटनाले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखानलाई व्यवहारमै पुष्टि गरेको देखिन्छ।

थापाथली क्षेत्रमा लेन क्रस गर्ने सवारीसाधनलाई सिसि क्यामेराको सहायतामा समेत कारबाही गर्ने अभ्यास रहेको छ। ट्राफिक नियम उल्लंघन गरेको पाइए क्यामेराबाट हेरेरै पनि कारबाही हुने गरिएको ट्राफिक प्रहरी स्वयं बताउँछन्।

तर, यस घटनाले भने महँगो र ठूला गाडीलाई छुट दिने तथा मोटरसाइकललाई कडाइका साथ कारबाही गर्ने प्रवृत्ति अझै कायम रहेको गम्भीर प्रश्न उठाएको छ।

थापाथलीका ट्राफिक प्रहरी प्रमुख किरण रावत भने सबैलाई समान कारबाही हुने बताउँछन् । सबैलाई समान नियम लाग्छ, कहिले कहीँ ड्युटीमा खटिएका ट्राफिक झुक्किएमा मात्र यस्तो हुनुपर्ने हो, नत्र त यस्तो नहुनुपर्ने उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।