काठमाडौं । सार्वजनिक बिदाको दिन आज एकाएक अनलाइन सञ्चारमाध्यममा ‘ग्रिन आर्मी नेपाल खारेज’ भएको भन्दै समाचारहरू प्रकाशित भए। ती मिडियाले नेपाली सेनाको उच्च स्रोतलाई उद्धृत गर्दै संस्था खारेज भएको दाबी गरेका छन् ।
तर, हेलोखबरले ती समाचारको आधिकारिकता, दाबी पुष्टि गर्ने आधार, उपलब्ध प्रमाण र स्रोतको विश्वसनीयता अध्ययन गर्दा संस्था खारेज भएको स्वतन्त्र पुष्टि हुने पर्याप्त आधार भेटिएन।
कसले के लेखे ?
देशान्तर डटकमले ‘उच्च सैनिक स्रोत’लाई उद्धृत गर्दै ग्रिन आर्मी खारेज भएको समाचार प्रकाशित गरेको छ। तर, समाचारमा खारेजीको औपचारिक निर्णय, निर्णय गर्ने निकाय वा त्यसलाई पुष्टि गर्ने कुनै दस्तावेज र भरपर्दाे तथ्यहरू सार्वजनिक गरिएको छैन।
त्यसपछि इमेजखबर, समाचारपत्रको अनलाइन न्यूजअफ नेपाल, डीसीनेपाललगायत अन्य सञ्चारमाध्यमले पनि यही विषयमा समाचार प्रकाशित गरेका छन्।
रोचक पक्ष के छ भने, यी समाचारमा पनि मुख्य स्रोतका रूपमा ‘उच्च सैनिक स्रोत’ लाई नै उद्धृत गरिएको छ। स्वतन्त्र रूपमा पुष्टि गरिएको अर्को स्रोत पाउन ससकिदैन।
यसले के देखाउँछ भने कि त एउटै स्रोतबाट सूचना लिएर समाचारहरू क्रमशः प्रकाशित भएकाे हुनुपर्छ वा एउटा मिडियामा आएको दाबीलाई अन्य मिडियाले पुनर्लेखन मात्रै गरेकाे हुनुपर्छ।
दर्ता गर्ने निकाय र खारेज गर्ने निकायमा फरकता ?
यहाँ अर्को महत्वपूर्ण प्रश्न पनि उठ्छ—ग्रिन आर्मी नेपाल दर्ता गर्ने निकाय कुन हो र खारेज गर्ने अधिकार कसलाई छ ?
अनलाइनखबरमा प्रकाशित विवरणअनुसार नेपाली सेनाको व्यवस्था, नीति तथा योजना निर्देशनालयले उक्त पोशाक नेपाली सेना वा अन्य सुरक्षा निकायको पोशाकसँग नमेलिने तथा संस्था वातावरण संरक्षणसँग सम्बन्धित रहेकाले प्रयोग गर्न उपयुक्त हुने राय दिएको थियो। त्यसपछि २०७८ साउन २९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत संस्थाले औपचारिक अनुमति पाएको उल्लेख छ।
तर, संस्था खारेज भएको दाबी गर्ने समाचारहरू पढ्दा भने दर्ता गर्ने निकाय, खारेजीको निर्णय गर्ने निकाय र खारेजीको कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी दिइएको देखिँदैन।
यदि संस्था जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित सरकारी निकायमा दर्ता भएको हो भने त्यसको खारेजीसम्बन्धी औपचारिक निर्णय पनि त्यही निकायबाट भएको हुनुपर्ने हो। तर, खारेजीको दाबी गर्ने समाचारमा त्यसतर्फ स्पष्ट आधार प्रस्तुत गरिएको छैन।
केवल सैनिक स्रोतको भनाइका आधारमा कुनै संस्था कानुनी रूपमा खारेज भएको निष्कर्ष निकाल्न सकिने अवस्था देखिदैन ।
ग्रिन आर्मीले भन्यो– ‘खारेज भएको छैन’
उता, ग्रिन आर्मी नेपालले भने संस्था खारेज भएको समाचारको खण्डन गरेको छ।
खबरहबका अनुसार ग्रिन आर्मी नेपालले आइतबार विज्ञप्ति जारी गर्दै संस्था खारेज भएको भन्ने समाचार ‘तथ्यहीन, भ्रामक तथा अपुष्ट’ रहेको जनाएको छ।
यससँगै अहिले एउटै विषयमा दुईथरी दाबी देखिएका छन्—केही सञ्चारमाध्यमले ‘खारेज भएको’ दाबी गरेका छन् भने स्वयं संस्थाले त्यसलाई अस्वीकार गरेको छ।




