गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
महासचिव सुजन कटुवाल, सचिव भुवन राज गिरी, कोषाध्यक्ष सबिना श्रेष्ठ र युवा संयोजक गोविन्द ढकालले संयुक्त रूपमा अध्यक्षसमक्ष राजीनामा पत्र बुझाउँदै ५ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी पदबाट अलग भएको घोषणा गरेका हुन्।
संस्थाभित्र हाल अपनाइएका कार्यशैली, निर्णय प्रक्रिया तथा समग्र सञ्चालन पद्धतिप्रति आफूहरू सन्तुष्ट हुन नसकेको राजीनामा पत्रमा उल्लेख छ। असहमति रहेकै अवस्थामा पदमा निरन्तर रहनु उपयुक्त नहुने निष्कर्षका साथ जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनीहरूले जनाएका छन्।
राजीनामासँगै उनीहरूले ५ सेप्टेम्बर २०२६ पछि एनआरएन एनसिसी नेदरल्या्यान्ड्स तथा एनआरएनको कुनै पनि बैठक, कार्यक्रम, संस्थागत प्रतिनिधित्व वा प्रणालीगत आबद्धतामा सहभागी नहुने स्पष्ट पारेका छन्। साथै, संस्थाको कुनै पनि पत्राचार, विज्ञप्ति, सामाजिक सञ्जाल वा सार्वजनिक अभिलेखहरूमा आफ्नो नाम र पद प्रयोग नगर्न तथा विवरणहरू तत्काल अद्यावधिक गर्न आग्रह गरेका छन्।
आफ्नो कार्यकालमा नेपाली समुदायको सेवा गर्ने अवसर मिलेकोमा उनीहरूले सम्पूर्ण नेदरल्या्यान्ड्सवासी नेपाली समुदाय, सहयोगी संघ-संस्था तथा कार्यसमितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।




