काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतकाे सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्याेट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाभन्दा बढी देखिएको छ ।
समितिको मंगलबारको बैठकमा समिति सचिव एकराम गिरीले कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार लेखा समितिले बेरुजु फर्छ्याेट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ छ ।
छलफलमा सांसदहरूले बेरुजु फर्छ्याेटको अंक ठूलो रहेको र नयाँ पनि हेर्नुपर्ने भएकाले गम्भीर हुनुपर्ने बताएका छन् ।
रास्वपा सांसद विपिन आचार्यले संसदीय समितिको पनि क्यालेन्डर बनाएर जानुपर्ने बताए । ‘हतारमा नभएर आवश्यक परे लामो छलफल गर्ने गरी जाऔँ,’ उनले भने । कति महिनामा कति काम गरियो भनेर पनि अभिलेखीकरण गर्ने प्रस्ताव आचार्यको छ ।
रास्वपाका अर्का सांसद गणेश पराजुलीले सबै बेरुजु भ्रष्टाचार नभएको भनाइ राखे ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र शाहीले लेखा समिति अब एक्सन ओरिन्टेड भएर जानुपर्ने बताए । लेखा समिति प्रभावकारी भएन भनेर टिप्पणी नआउने गरी काम गर्नुपर्ने उनले बताए ।







