काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र विवाद त पक्कै सुन्नु नै भयो ।
त्यहीँ खेलको अन्तिम समयको दौरान इजिप्टका कोचले आफ्नो हात क्रस गरेर टाउको माथि ठर्याउँदै यताउति हिडेको त पक्कै देख्नु नै भयो होला ।
अनि, तपाईले सोच्नु भयो त ? किन यसरी टाउको माथि हात ठर्याएर हात क्रस गरेको भनेर ?
खेलको मैदानमा प्रशिक्षकले यसरी हात क्रस गर्नुको सबैभन्दा ठूलो अर्थ ‘यो गलत भयो’ वा ‘म यसमा कडा असहमति जनाउँछु’ भन्ने हो। यो तस्बीरले खेलको निर्णयप्रति प्रशिक्षकको चरम असन्तुष्टि, आक्रोश र अन्याय भएको महसुसलाई व्यक्त गर्दछ ।
जब रेफ्रीले इजिप्टको विरुद्धमा वा अर्जेन्टिनाको पक्षमा कुनै ठूलो निर्णय गरे, तब प्रशिक्षकले ‘त्यो निर्णय गलत छ, त्यो मान्य छैन’ भन्नका लागि यो सांकेतिक भाषा प्रयोग गरेका हुन्।
यस्तो एक्स संकेतलाई फिफाद्वारा प्रस्तुत गरिएको आधिकारिक जातिवाद विरोधी इशाराको रूपमा मान्यता दिइएको छ । जातीय वा भेदभावपूर्ण दुर्व्यवहार भएको रुपमा इजिप्टका प्रशिक्षकले आफ्नो आक्रोश पोखेका थिए ।
अर्जेन्टिनाले इन्जुरी समयमा विजयी गोल गरेपछि कोचले रेफ्रीको निर्णयप्रति उनले ‘एक्स’ आकारमा हात जोडेर संकेत गरेका थिए, तर खेलमा रेफ्रीले कुनै एन्टी-रेसिज्म प्रोटोकल सुरु गरेनन्। त्यसको सट्टा रेफ्रीले उनको व्यवहारलाई असहमतिका रूपमा लिएर पहेंलो कार्ड देखाए। एन्टी रेसिज्म प्रोटोकल सुरु गर्दा खेल रोक्ने, अवस्था नसुध्रिए खेल अस्थायी रूपमा स्थगित गर्ने र अझै पनि समस्या कायम रहे खेल नै अन्त्य गर्नुपर्ने हुन्छ ।
फुटबलमा धेरैले यो संकेतलाई भार सँग जोड्छन्, तर भारको आधिकारिक संकेत भने रेफ्रीले हातले टिभी स्क्रिनको आकार बनाउनु हो ।








