काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”

टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने १९ वर्षीय नवीन शर्मा (नाम परिवर्तन) को आँखा टल्कियो।

अनलाइनमार्फत घरमै बसेर पैसा कमाउन सकिने आशामा उनले टेलिग्रामको ‘Freedom’ नामक विजनेस लिङ्क खोलेका थिए। तर, त्यही एउटा ‘क्लिक’ले उनलाई यसरी साइबर अपराधीको जालमा फसाउला भनेर उनले सोचेका सम्म थिएनन्।

‘ट्रायल फेज’ र सुनिता–सर्मिलाको चाललिङ्क खोलेलगत्तै सुनिता नामकी एक महिलाले उनलाई सामान्य जानकारी गराइन्। काम बुझ्न उत्सुक बनेका नवीनलाई थप सहयोगका लागि भन्दै सुनिताले ‘सर्मिला’ नामकी अर्की महिलासँग सम्पर्क गराइदिइन्।

सर्मिलाले आफूलाई कम्पनीको ‘सिनियर एडभाइजर भन्दै चिनाइन्। उनले कम्पनीको काम गर्ने तरिका, अनलाइन बिडिङ र त्यसबाट हुने कमाइबारे नवीनलाई सम्झाइन। “हाम्रो कम्पनीमा आबद्ध हुन सुरुमा ट्रायल फेज पास गर्नुपर्छ, त्यसपछि आकर्षक बोनस पाइन्छ,” सर्मिलाको यो भनाइले नवीनलाई आकर्षित गर्‍यो।

प्रोफाइल बनाउन र काम सुरु गर्न सर्मिलाले सुरुमा १० हजार रुपैयाँ लगानी गर्न लगाइन्। नवीनले आफ्नो खाताबाट १० हजार रुपैयाँ अंकित कुमार हरिजनको खातामा ट्रान्सफर गरिदिए।

४० वटा ‘बिडिङ’ र अङ्कको खेल
१० हजार पठाएपछि नवीनलाई चालिस वटा बिडिङ टास्क पूरा गर्न लगाइयो। नवीनले तोकिएको काम सकिसकेपछि आफ्नो कमाइ र असुल रकम निकाल्न खोजे। तर, त्यहीँबाट सुरु भयो असली खेल । ठगहरूले नवीनलाई ‘प्रीमियम अफर’ को म्यासेज पठाउँदै रकम निकाल्न थप रकम थप्नुपर्ने बाध्यता सिर्जना गरिदिए।

“अहिले रकम थप्नुभयो भने बोनससहित सबै पैसा फिर्ता आउँछ,” भन्ने आश्वासन पाएपछि नवीन रकम थप्न तयार भए। तर, उनीसँग पर्याप्त रकम थिएन। उनले आफ्ना साथीभाइ र इष्टमित्रसँग “केही दिनमै फिर्ता गर्छु” भन्दै रकम मागे। त्यतिले पनि नपुगेपछि घरमा आमासँग विभिन्न बहाना बनाएर पैसा मागेर ठगहरूले भनेका खातामा पठाउन थाले।

नवीनले साउन १३ देखि साउन १९ सम्मको छोटो अवधिमै पटक-पटक गरी कहिले ३२ हजार, कहिले ८९ हजार त कहिले २ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरू (देविल खड्का, सजित थापा, मनिश दर्जी, दिनेश प्रसाद यादव, टेकनाथ गिरी) का बैंक खातामा ट्रान्सफर गरिरहे।

‘१०० क्रेडिट पोइन्ट’ को नाममा थप १० लाखको माग

साउन १९ गतेसम्म पुग्दा नवीनले आफ्ना साथीभाइ र आमाको समेत गरी कुल ९ लाख १९ हजार ४ सय रुपैयाँ ठगहरूको खातामा पठाइसकेका थिए। जब नवीनले पुनः आफ्नो सबै रकम निकाल्न खोजे, उताबाट अर्को नयाँ सर्त तेर्स्याइयो— “तपाईंको Withdrawal Credit Point १०० पुगेको छैन, रकम निकाल्नका लागि थप १० लाख रुपैयाँ जम्मा गर्नुपर्छ!” थप १० लाख रुपैयाँ मागेपछि मात्र नवीनको होस खुल्यो।

आफू कुनै अनलाइन काममा होइन, साइबर ठगीको ठूलो सञ्जाल (Task Scam) मा फसिसकेको र आफूले पठाएको ९ लाख भन्दा बढी रकम डुबिसकेको तथ्य उनले महसुस गरे।

प्रहरी र अदालतको ढोकामा

आफू ठगिएको थाहा पाएपछि नवीन आफ्ना दाइ अनिष शर्मालाई साथमा लिएर नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी पुगे। ब्यूरोले खोजतलास गर्दा नवीनको पैसा देशका विभिन्न जिल्लाका ८ जना व्यक्तिको बैंक खातामा पुगेको देखियो।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा ८ जना प्रतिवादीहरू (कृष्णनन्दन महतो, दिनेश प्रसाद यादव, सजित थापा, मनिश दर्जी, अंकित कुमार हरिजन, इतुशा सुहाङ, देविल खड्का र टेकनाथ गिरी) विरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगी मुद्दा दायर गरेको छ।

सरकारी वकीलले आरोपीहरूबाट नवीनको ९ लाख १९ हजार ४ सय रुपैयाँ बिगो असुल गरी दिलाउन र उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना गर्न मागदाबी गरेको छ। यद्यपि, ठगीमा संलग्न खातावाला प्रतिवादीहरू हालसम्म फरार रहेकाले अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अगाडि बढेको छ।

सामाजिक सञ्जाल (फेसबुक, टेलिग्राम, ह्वाट्सएप) मा आउने पार्ट टाइम जब, अनलाइन बिडिङ वा टास्क कम्प्लेस जस्ता लोभलाग्दा अफरहरू प्रायः ठगीका माध्यम हुन्। रकम निकाल्नका लागि उल्टै पैसा माग्ने कुनै पनि अनलाइन काममा विश्वास नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।