काठमाडौं । याङकी उक्याब– नेपालमा खासै सुनिएको र परिचित नाम थर यो पक्कै पनि हैन । मन्त्री परिषदले उनै यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेपछि यो नाम, थरको चासो, चिन्ता तथा सोधीखोजी एकैचोटी बढेर गएको छ ।

कतिपयले नेपाली नै हो त ? भनेर प्रश्न पनि गरिरहेका छन् । त्यसो भए को हुन् याङकी उक्याब ?
उनको हामीले खासै नसुनको नाम थर भएपनि यसअघि पनि उनले लगानी बोर्डमै लगानी सम्बन्धी परियोजनामा चार वर्ष काम गरेकी थिइन् । बोर्डमा रहेर विशेषगरी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाहरूको लगानी संरचनामा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उनको पुर्ख्यौली घर ताप्लेजुङको ओलाङचुङगोला हो । तर, उनी काठमाडौंको स्थायी बासीन्दा हुन् ।

उक्याब विकास अर्थशास्त्रीको रुपमा परिचित छिन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेकी छिन् । सेतोपाटीका अनुसार अक्सफोर्डमा पढेपछि उनी राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीमा आबद्ध भइन्। उनले युएनडिपीको वरिष्ठ सल्लाहकारका रूपमा फिजी, कम्बोडिया लगायत मुलुकमा काम गरेकी छन्।

नेपाल प्रेसका अनुसार उनी पूर्वअञ्चलाधीश जोन्देन उक्यावकी छोरी हुन् । जोन्देन हिमाली क्षेत्र र नेपाल–चीन सम्बन्धबारे गहिरो अध्ययन तथा जानकारी राख्ने व्यक्ति थिए । उनको सम्मानमा राजेश्वर थापाको सम्पादन र याङकी उक्यावको प्रकाशनमा २०६९ जेठ ८ गते ‘जोन्देन उक्याब स्मृतिग्रन्थ’ प्रकाशित भएको थियो ।

फेसबुकमा धेरैले याङ्कीलाई फिलिपिनो, तिब्बती, चाइनिज वा विदेशी भनेर टिप्पणी एवम् जिज्ञासा व्यक्त गरिएको पाइयो भन्दै चलचित्रकर्मी दीपेन्द्र लामाले यो नाम थरको विषयमा अझै स्पष्ट पारेका छन् ।

नेपालको वालुङ जातिको एउटा थर हो उक्याब । ताप्लेजुङको ओलाङचुङगोलामा बसोबास गर्ने वालुङ जातिको जनसङ्ख्या जम्मा ४८१ मात्रै रहेको तथ्याङ्क छ । त्यसैले यो अतिलोपोन्मुख जातिमा पर्छ । याङ्की शब्दले तिब्बती भाषामा ‘सौभाग्यपूर्ण आनन्द’ भन्ने अर्थ जनाउँछ ।

पहाडी र हिमाली बौद्ध समुदाय (शेर्पा, तामाङ, लेप्चा आदि) हरुको नाम तिब्बती शब्दबाटै जुराइने चलन छ । दिपेन्द्र लामाले लेखेका छन् ।

याङकी नाताले डा. सन्दुक रुइतकी पारिवारिक सदस्य पनि हुन् । सार्वजनिक समाचारहरु अनुसार रुइतले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलाइ भेटेर उनको बारेमा जानकारी गराउँदै नियुक्तिका लागि पहल गरेका थिए । अब याङ्कीले चार वर्ष बोर्डको नेतृत्व प्रदान छिन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। ती तीन जनामध्येबाट मन्त्रिपरिषदले यांकीलाई नियुक्त गरेको हो।

सिफारिस समितिले यांकी उक्याबसहित मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको थियो । समितिले लगानी बोर्डको सिइओ नियुक्तिका लागि जेठ २९ गते आवेदन मागेर प्रक्रिया अघि बढाएको थियो। कानुन अनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत बोर्डको सदस्य–सचिव पनि हुने व्यवस्था छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।