काठमाडौँ । सुरुमा ४० हजार रुपैयाँको सेयर हडपेको कसुरमा मात्र अनुसन्धान भई अदालत पुगेको एउटा सामान्य ठगी मुद्दा छानबिन गर्दै जाँदा कसरी करोडौँ रुपैयाँको जघन्य वित्तीय अपराधमा परिणत हुन्छ भन्ने ज्वलन्त उदाहरण ललितपुर जिल्ला अदालतमा दर्ता भएको ‘सत्कार सेक्युरिटीज प्रा.लि’ को पछिल्लो पूरक अभियोग पत्रले खुलासा गरेको छ।
मृतक सेयरधनीको किर्ते हस्ताक्षर र औंठाछाप प्रयोग गरी सेयर हत्याउने गिरोहले कम्पनीको बैंक खाताबाट निजी प्रयोजन, छोरा-भाइ र आफन्तका नाममा करोडौँ रुपैयाँ अनधिकृत रूपमा झिकेर अपचलन गरेको तथ्य नेपाल प्रहरीको छानबिन र सरकारी वकिलको पूरक अभियोग पत्रबाट बाहिर आएको हो।
मृतकको सही र औंठाछाप प्रयोग गरी सेयर कब्जा
ललितपुरको कुपण्डोलमा कार्यालय रहेको सत्कार सेक्युरिटीज प्रा.लि. मा साविक ४० प्रतिशत सेयरधनी रहेका रघुनाथ खड्काको मिति २०७६र०५र२५ गते नै निधन भएको थियो। तर, खड्काको मृत्यु भइसकेको तथ्यलाई छिपाउँदै कम्पनीकी मुख्य सञ्चालक अनिता घिमिरे चौरेलले अर्का प्रतिवादी इन्द्रबहादुर अर्याल, नोटरी पब्लिक सुधिर तिम्सिना र विनोद खतिवडासँग मिलेमतो गरी खड्काको निधन भएको ४ वर्षपछिको किर्ते मिति राखी कागजात खडा गरेका थिए।
उक्त किर्ते कागजातमा मृतक खड्काको नक्कली हस्ताक्षर र औंठाछाप हालेर नोटरी पब्लिकबाट प्रमाणित गराई कम्पनीको ४० प्रतिशत सेयर इन्द्रबहादुर अर्यालका नाममा हडपिएको थियो। मृतकका छोरा एवं हकवाला रन्जित खड्काले आफ्ना बाबुको सेयर नामसारीका लागि पटक(पटक ताकेता गर्दा पन्छाउँदै आएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर खोजी गर्दा यो किर्ते धन्दा पर्दाफास भएको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले मिति २०८१/०४/०२ गते ४० हजार रुपैयाँ पुँजी बिगो कायम गरी अभियुक्तहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी) बमोजिम पहिलो अभियोग पत्र दर्ता गरेको थियो। तर सेयर हडपिएपछि कम्पनीभित्र भएका आर्थिक कारोबार र वित्तीय अपचलन झनै डरलाग्दो पाइयो ।
बैंक स्टेमेन्ट मगाउँदा खुल्यो करोडौँ अपचलनको रहस्य
मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा कम्पनीका विभिन्न बैंक खाताको स्टेटमेन्ट प्राप्त गरेपछि ठगीको दायरा ४० हजारमा मात्र सीमित नरहेको पत्ता लागेको थियो। त्यसपछि अदालतमा पूरक निवेदन परेको थियो ।
अदालतको आदेश र प्रहरी अनुसन्धानका क्रममा मगाइएका प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा प्राइम कमर्सियल बैंकका खाताहरूको गहन विश्लेषण गर्दा प्रतिवादी अनिता घिमिरे चौरेलले कम्पनीको रकम व्यावसायिक हितमा भन्दा पनि व्यक्तिगत र पारिवारिक प्रयोजनमा मनपरी खर्च गरेको भेटियो।
पूरक अभियोग पत्रमा उल्लेखित विवरण अनुसार, मुख्य प्रतिवादी अनिता घिमिरे चौरेलले सत्कार सेक्युरिटीजको प्रभु बैंक मंगलबजार शाखामा रहेको खाताबाट मात्र ६ महिनाको अवधि ५६ लाख २४ हजार ७२२ रुपैयाँ अनाधिकृत रूपमा झिकेर अपचलन गरेको पाइएको छ ।
कम्पनीको रकम चौरेलले आफ्ना छोरा एनिस चौरेल (जो ललितपुर जिल्ला अदालतमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्), भाइ सुजन घिमिरे तथा अन्य आफन्तका नाममा ट्रान्सफर गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको छानबिनबाट पुष्टि भएको छ। यसैगरी राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखाको खाताबाट ६८ लाख ७१ हजार ८५६ रुपैयाँसहित कुल १ करोड २५ लाखभन्दा बढी नगद अपचलन भइसकेको प्रारम्भिक हिसाब निकालिएको छ।
प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले विस्तृत अनुसन्धान पश्चात् २०८३ साल साउन २१ गते सहायक जिल्ला न्यायाधिवक्ता वसन्त अर्यालको दस्तखतमा ललितपुर जिल्ला अदालतमा पूरक अभियोग पत्र पेस गरेको छ। पूरक अभियोग पत्रमा प्रतिवादीहरू अनिता घिमिरे चौरेल र इन्द्रबहादुर अर्याललाई ठगी कसुरमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ७ वर्षसम्म कैद र जरिवानाकाे साथै क्षतिपुर्तिकाे माग गरिएकाे छ ।





