काठमाडाैं । सरकारी कर्मचारीले याे साउनदेखि बढेकाे तलब पाउने छन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक पनि गरेको छ।
यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो ।
गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो।
सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्रांकित विशिष्ट श्रेणीको ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि ६६ हजार ५३९ तोकेको छ।
त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि ६२ हजार ४६६ तोकिएको छ। त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको ४८ हजार ५८ तलबमान तोकिएको छ।
त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ।
निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीका लागि नयाँ तलबमान आकर्षित हुनेछ ।






