Wednesday, September 2, 2026
22.1 C
Kathmandu
Home समाचार ‘भोटेकोशी-त्रिशूली बाढी’ विषयक विचारगोष्ठी सम्पन्न, क्षतिपूर्तिको माग र इन्जिनियरिङ ढाँचा फेर्न विज्ञहरूको...

‘भोटेकोशी-त्रिशूली बाढी’ विषयक विचारगोष्ठी सम्पन्न, क्षतिपूर्तिको माग र इन्जिनियरिङ ढाँचा फेर्न विज्ञहरूको जोड

काठमाडौँ । एभरेष्ट इन्जिनियरिङ कलेज र सोहम नेपालको संयुक्त आयोजनामा सानेपास्थित कलेजको सेमिनार हलमा “भोटेकोशी-त्रिशूली फ्लड २०२६” विषयक विचारगोष्ठी सम्पन्न भएको छ।

जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले निम्त्याएका चुनौतीहरूबारे छलफल गर्न आयोजित उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका जलस्रोत, वातावरण तथा भू-गर्भ विज्ञहरूले आ-आफ्नो धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ भू-गर्भविद् प्रो. डा. राजन कुमार दाहालले नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर जलवायुजन्य क्षतिको क्षतिपूर्ति दाबी गर्नुपर्ने बताएका छन् । आवश्यकता परेमा आफ्ना माग सुनुवाइ नभएसम्म अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गर्न नदिने अडान लिनुपर्ने उनको भनाइ छ।

काठमाडौँ विश्वविद्यालयका हिमनदी तथा क्रायोस्फियर विज्ञ प्रो. डा. रिजनभक्त कायस्थले नेपालमा ४७ वटा हिमनदीहरू उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गर्दै यिनको नियमित अनुगमन र अनुसन्धान हुनुपर्नेमा जोड दिए। यस प्रकारका अध्ययन र अनुसन्धानमा नेपाल अझै धेरै पछाडि परेको भन्दै अब पनि ढिला गरेमा हामीले अझै ठूलो क्षति बेहोर्नुपर्ने बताए ।

त्यसैगरी, पूर्व जलस्रोत मन्त्री तथा वरिष्ठ जलस्रोत विज्ञ इन्जिनियर दिपक ज्ञवालीले वैदेशिक सहयोग वा डलरको आसमा मात्र हेरेर बस्नु भन्दा नेपाल आफैँ अग्रसर भएर समाधानका उपाय खोज्नुपर्ने बताए।

इप्पानका कार्यसमिति सदस्य तथा जलविद्युत् विज्ञ इन्जिनियर कदम केसीले परिवर्तनशील मौसम र बाढीको जोखिमलाई ध्यानमा राख्दै अब नेपालको इन्जिनियरिङ ढाँचानै परिवर्तन गर्नुपर्ने समय आइसकेको धारणा राखे।

यस्तै, इसिमोडका भू-सूचना प्रविधि विज्ञ तथा वरिष्ठ हस्तक्षेप प्रबन्धक विरेन्द्र बज्राचार्यले वातावरणीय जोखिम र प्राकृतिक विपत्तिप्रति समयमै सचेत नभए भविष्यमा अझ ठूलो भौतिक तथा मानवीय क्षति बेहोर्नुपर्ने चेतावनी दिए ।

एभरेष्ट कलेजमा प्रिन्सिपल तथा इन्जिनियर हरिकृष्ण श्रेष्ठले गलत ठाउँमा बस्ती बसाउनु नै भूल भएकाे उल्लेख गर्दै अहिले बस्ती बगाएकाे ठाउँमा फेरी बस्ती बनाउन नहुने जनाए ।

विज्ञहरुले सरकारले यो क्षेत्रमा खोज तथा अनुसन्धानका लागि गम्भीर बन्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

याे पनि हेर्नुहाेस्- नेपालका ४७ हिमताल/हिमनदी उच्च जोखिममा ! प्रो. डा. रिजन भक्त कायस्थ, हिमनदीविद्सँगकाे कुराकानी


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।