काठमाडौं । केही समयअघि मात्रै व्यावसायिक उत्पादन सुरु गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना बाढीका कारण ध्वस्त भएको छ । जलविद्युतमा कार्यरतहरुको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
भोटेकोशीको बाढीले रसुवागढी आयोजनासँगै रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुर्याएकाे छ । त्यसमध्ये रसुवागढीकाे बाँधस्थल, पावरहाउस र अन्य भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ। क्षतिकाे पूर्ण विवरण आउन बाँकी छ ।
क्षतिसँगै ऋण प्रवाह गर्ने कम्पनीदेखि सर्वसाधरणको समेत लगानी जोखिममा परेको छ । आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले एकल ऋणदाताका रूपमा लगानी गरेको थियो ।
महाभूकम्प, नाकाबन्दी, कोरोना महामारी र पटक–पटकको ढिलाइले गर्दा ब्याज पुँजीकरणसहित कोषको कुल ऋण लगानी रु १६ अर्बदेखि १८ अर्बको हाराहारीमा पुगेको छ।
विद्युत् उत्पादन बन्द भई आयोजनाको प्रवर्द्धक ‘रसुवागढी हाइड्रोपावर कम्पनी’ को बिक्री बापतको नगद प्रवाह पूर्ण रूपमा ठप्प बनेको छ। आयोजना पुनः सञ्चालनमा ल्याउन महिनौँ वा वर्षौँ लाग्न सक्ने र थप मर्मत खर्च लाग्ने भएकाले सञ्चय कोषको यो सम्पूर्ण ऋण उठ्ने समय अनिश्चित छ।
कसको जोखिम कति ?
आयोजनाको ५१ प्रतिशत संस्थापक शेयर नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र स्थानीय तहको छ। चिलिमे र प्राधिकरणले गरेको अर्बौँको स्वपूँजी डुब्ने वा प्रतिफल नदिने जोखिम बढेकाे हाे ।
कम्पनीको ४९ प्रतिशत शेयर सर्वसाधारण, सञ्चयकर्ता र रसुवाका स्थानीय बासिन्दाको छ। आयोजना क्षतिग्रस्त भई उत्पादन ठप्प भएपछि सर्वसाधारण लगानीकर्ताले पाउने लाभांश रोकिनेछ भने दोस्रो बजारमा शेयरको मूल्य तीव्र रूपमा घट्ने जोखिम बढेको छ।
आयोजनाको मुख्य ऋण कर्मचारी सञ्चय कोषबाट लिइएको हो। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार सञ्चय कोषसँग त्रिपक्षीय ऋण सम्झौता गरिएको थियो।
यसको अर्थ रसुवागढी आयोजनामा भएको क्षतिको असर केवल कम्पनीका शेयरधनीमा मात्र पर्दैन। ऋणदाता कर्मचारी सञ्चय कोष र त्यससँग जोडिएको ठूलो रकम पनि जोखिमको घेरामा पर्छ। आयोजना पुनर्निर्माणमा ठूलो रकम लाग्यो भने कम्पनीले थप ऋण लिनुपर्ने हुन सक्छ। यसले ऋणको भार अझ बढाउन सक्छ।
कम्पनीपछि दोस्रो ठूलो जोखिम कर्मचारी सञ्चय कोषको हो। रसुवागढीको मुख्य परियोजना ऋण सञ्चय कोषबाट व्यवस्थापन गरिएको हो। त्यसैले आयोजना लामो समय सञ्चालनमा आउन नसके ऋणको साँवा–ब्याज असुलीमा दबाब पर्न सक्छ।
तेस्रो जोखिम शेयरधनीको हो। आयोजनाको आम्दानी कमजोर भयो भने कम्पनीको नाफा, लाभांश र शेयर मूल्यमा असर पर्न सक्छ।
अघिल्लो बाढीपछि बल्ल उठ्दै थियो आयोजना
रसुवागढी आयोजना यसअघि पनि बाढीको ठूलो क्षतिमा परेको थियो । २०८२ सालको बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रका सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण तथा इलेक्ट्रोमेकानिकल प्रणालीमा गम्भीर क्षति पुर्याएको थियो।
त्यसपछि नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरिङ कम्पनीमार्फत क्षतिको मूल्यांकन र पुनर्स्थापना योजना बनाइएको थियो। केही समयपछि एउटा युनिटबाट र त्यसपछि दुई युनिटबाट उत्पादन सुरु गरिएको थियो।
आयोजना पूर्ण क्षमतामा पुगेर ऋण तिर्ने अवस्थामा पुग्नुअघि नै फेरि अर्को ठूलो बाढीमा परेकाे हाे ।
बीमाबाट क्षति
कम्पनीले नियमित रुपमा बीमा पनि गर्दै आएको पाइन्छ । कम्पनीको वेबसाइटमा २०८३ साउनमा सम्पत्ति बीमाका लागि प्रस्ताव माग गरिएको सूचना पनि प्रकाशित छ।
तर बीमाले सम्पूर्ण भौतिक क्षति, पुनर्निर्माण खर्च र उत्पादन बन्द हुँदा गुमेको आम्दानीको कति बराबरकाे क्षति रिकभर गर्छ भन्ने विषय भने गम्भीर छ ।




