काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने संकेत अहिलेका मौसम पूर्वानुमान मोडेलहरूले दिएका छन्।
बंगालको खाडी र अण्डमान सागर आसपास न्यूनचापीय क्षेत्र बन्ने क्रममा छ। उक्त प्रणाली थप शक्तिशाली भई चक्रवातको रूप लिने र त्यसकै प्रभावका कारण मनसुनको उत्तरार्धमा भारी वर्षा हुन सक्ने मोडलहरूले देखाएका हुन्।
अहिले नै “असोज ८–१२ मा यति नै मिलिमिटर पानी पर्छ” भनेर निश्चित भइसकेको छैन। जल तथा मौसम विज्ञान विभागले पनि प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको र यसको वास्तविक प्रभावबारे केही दिनपछि मात्र थप स्पष्ट हुने बताएको छ।
भारतको मौसम विभागका अनुसार यो प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै सेप्टेम्बर २१ मा डिप्रिशन र २२ मा डिप डिप्रिशन बन्न सक्ने प्रारम्भिक प्रक्षेपण छ। त्यसपछि यो दक्षिण ओडिसा–उत्तर आन्ध्र प्रदेशतर्फ जाने अनुमान छ।
नेपालका लागि महत्वपूर्ण पक्ष चाहिँ यही प्रणालीबाट आउने जलवाष्प नेपालतर्फ तानिनु र नेपालमा रहेको पश्चिमी वायुमण्डलीय प्रणालीसँग यसको अन्तरक्रिया हुन सक्नु हो। यी दुई प्रणाली मिलेमा वर्षाको गतिविधि अझ तीव्र हुनसक्ने मौसमविद्हरूले बताएका छन्।
पानी कति पर्न सक्छ ?
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा। विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेल अध्ययन गर्दा केही मोडेलमा ४०० मिलिमिटरभन्दा बढी वर्षाको संकेत देखिएको र एउटा मोडेलमा ७४१ मिलिमिटरसम्म देखिएको बताएका छन्। यस्तो अत्यधिक वर्षा देशभर समान रूपमा नभई निश्चित ठाउँमा बढी हुन सक्ने बताइन्छ ।
कुन क्षेत्र बढी जोखिममा देखिन्छ ?
अहिले उपलब्ध सूचनालाई जोड्दा पश्चिम र मध्य नेपालतर्फ विशेष ध्यान दिनुपर्ने संकेत देखिन्छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रारम्भिक अवस्थाको प्रणाली हेर्दा सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षाको सम्भावना देखिएको छ।
अर्कोतर्फ, मौसमविद्हरूले पूर्वदेखि पश्चिमसम्म पटक–पटक वर्षा हुन सक्ने सम्भावना पनि औंल्याएका छन्। प्रणाली ढिलो सरेमा वर्षा लामो समयसम्म दोहोरिन सक्ने बताइएको छ।
असोज १० गते अर्थात् सेप्टेम्बर २६ किन महत्वपूर्णर ?
मौसमविद् उज्ज्वल उपाध्यायले अहिले उपलब्ध अधिकांश पूर्वानुमान मोडेल हेर्दा सेप्टेम्बर २६ अर्थात् असोज १० आसपास जोखिम बढी देखिएको बताएका छन्। तर उनले यो प्रारम्भिक अनुमान भएको र आगामी दिनमा परिवर्तन हुन सक्ने स्पष्ट गरेका छन्।




