काठमाडौं २६ चैत
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान संशोधन विधेयकको मस्यौदा तयार गरिसकेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले देशको हित चाहने र संविधान कार्यान्वयन र चनुावको पक्षमा हुने सबैले मस्यौदामा सहयोग गर्ने बताउँदै मोर्चा र प्रतिपक्षी दलसँग गरिएकै छलफलका आधारमा विधेयक मस्यौदा तयार गरिएको समेत बताए ।
‘आजै मैले अर्को नयाँ संविधान संशोधन विधेयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ’ प्रधानमन्त्री दाहालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरुले यसलाई समर्थन गर्नेमा म बिश्वस्त छु ।’
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेशी मोर्चालेसमेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको समेत दाबी गरे ।
प्रधानमन्त्रीले मधेशी मोर्चासहित सबै शक्ति स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै बैशाख ३१ मै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा अब कुनै प्रश्न बाँकी नरहेको समेत बताएका छन् ।








