काठमाडौँ, २३ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवी भएका उम्मेदवार चयन गर्न बुद्धिजीवीले नेपाली काँग्रेसका शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।
मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसद्वारा घोषणा पत्र तयार गर्न सुझाव सङ्कलनका लागि बुधबार आयोजित कार्यक्रममा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिले स्थानीय तहमा पार्टीगत गुटको अन्त्य गरी सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्ने बताएका हुन ।
पार्टीका केन्द्रीय सदस्य महेश आचार्यको नेतृत्वमा गठित घोषणापत्र तयारी समितिले पार्टी शीर्ष नेताको सहभागितासहित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रजातान्त्रिक विचार अवलम्बन गरेका पेशागत सङ्गठनका प्रतिनिधि, पूर्व उच्च प्रशासक, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, प्राध्यापक, पत्रकार, अधिवक्तालगायतले लिखित तथा मौखिक सुझाव दिएका थिए ।
अधिकांश वक्ताले केन्द्रीय घोषणा पत्रसँगै स्थानीय मुद्दा समेटिने गरी स्थानीय तहमा समेत घोषणा पत्र बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा मुलुकको इतिहासका हरेक महत्वपूर्ण राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्वमा सफल भएको र काँग्रेसले अङ्गालेको समाजवाद तथा उदार आर्थिक नीतिका कारण आर्थिक, समाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भएका विकासका बारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने सुझाव आएको थियो ।







