काठमाडौँ, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टीको वैधानिक अध्यक्ष भएको भन्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट नारा र जुलुससहित नेता चन्दको नेतृत्वमा निर्वाचन आयोगमा पुगेको टोलीले गतवर्ष पार्टीको एकताको महाधिवेशनमा पार्टीको चक्रिय प्रणालीअनुसार आफू पार्टीको आधिकारीक अध्यक्ष भएको भन्दै आयोगको कानुनी शाखामा निवेदन दर्ता गराएका हुन् ।

अध्यक्ष चन्दले गतवर्ष भएको पार्टीको एकताको महाधिवेशनबाट एक–एक वर्ष आलोपालो गरी पार्टीको नेतृत्व गर्ने भनेर विधानमा नै उल्लेख गरिएअनुसार पहिलो वर्ष सूर्यबहादुर थापा, त्यसपछि क्रमशः लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीले पार्टीको नेतृत्व गर्ने सहमति भएको बताएका छन् ।

राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले महाधिवेशनको सहमति पालना गरेर जानुपर्ने भन्दै आधिकारीकरुपमा पार्टीका अध्यक्ष चन्द नै भएको र पार्टी एकबद्ध भएर अघि बढनुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख लीलादेवी गड्तौलाले राप्रपाका अध्यक्ष चन्दले बुझाएको निवेदन दर्ता गर्दै राप्रपाकोे विधानअनुसार छिट्टै निर्णय गरिने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।