काठमाडौं २२ फागुन
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा सबै दलका नेताहरुले सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने हिन्दीमा भाषण गरेका छन् ।
संसदमा राष्ट्रिय भाषामा बोल्ने गरिए पनि उनले हिन्दीमा सम्बोधन गरेर सबैको भावनालाई सम्बोधन गरेर अघि बढ्न वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए । उनले जनताले वाम गठबन्धनलाई ठूलो दल बनाएको भन्दै मन ठूलो बनाउन केपी शर्मा ओली र प्रचण्डलाई आग्रह गरेका थिए ।
महताेले हिन्दीमा सम्बोधन सकाए लगत्तै बोल्ने पालो पाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने नेपालीमा नै सम्बोधन गरेका थिए । त्यति मात्र नभएर उपेन्द्रले राष्ट्रियता, भाषा सँस्कृतिको चिन्ता समेत गरे ।
उनले विदेशी कामदारहरु कति नेपालमा काम गरिरहेको र के काम गरिरहेकोबारे सरकार जानकार हुनुपर्ने र तिनीहरुले नेपालको भाषा, सँस्कृतिमा असर गरिरहेको बताएका थिए । ‘नेपालमा भनिन्छ चार हजार भन्दा बढी विदेशी संस्था, एनजिओ आइएनजिओहरु काम गर्छन, सरकारलाई थाहा छ तिनीहरु कहाँ कहाँ काम गर्छन् ?’ उनले संसदमा भने, ‘त्यसले बौद्धिक वर्गलाई अलि अलि आर्थिक दास त बनाउन सफल हुन्छ, तर त्यसको नकरात्मक असर हाम्रो परिचय, हाम्रो धर्म, हाम्रो भाषा, हाम्रो राष्ट्रको एकतामा असर गरिरहेको हुन्छ ।’
संसदमा राजेन्द्र महतोले हिन्दीमा बोले, उपेन्द्र यादवले भाषाबारे चिन्ता पोखे
Comments







