काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको भन्दै भ्रष्टचार नसहने बताएका छन् ।
नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज शिलान्यास गर्दै उनले भने, “म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” उनले देशमा माआर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गरे ।
“मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ” प्रधामन्त्री ओलीले भने ।
विसं २०७७ भित्र मैले शिलान्यास गरेको भवन निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै उनले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने जानकारी समेत दिए ।
सरकारी अस्पताल भन्दा निजी राम्रो होइन
सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेको कुरामा नाक ठोकिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह समेत गरे ।
उनले भने–“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पु¥याउँछ ? यस प्रकारको हेलचक्रा्याईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो ।”
प्रधानमन्त्री ओलीले आफूले प्राविधिक शिक्षाको विकास र विस्तारमा पहिलो प्राथमिकता दिने जानकारी दिँदै आम जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउन गुणात्मक फड्को मारिने उल्लेख गरे । प्रकृतिले नेपाललाई आरोग्यभूमि दिएको प्रसंग उल्लेख गर्दै उनले विकासले ल्याएको असन्तुलित प्रयोगलाई रोक्न आवश्यक रहेकोमा जोड समेत दिए ।
यस्तो बन्दै छ सर्जिकल भवन
नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् । साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।







