चैत्र ३ । युक्रेनको स्वायत्त क्षेत्र रुसमा विलय हुने संकेत देखिएको छ । क्राइमियामा गरिएको जनमतसंग्रहमा रुसमा विलय हुने पक्षमा अत्यधिक मत परेपछि यस्तो देखिएको हो । ९५ दशमलव ५ प्रतिशतभन्दा बढी जनता युक्रेनबाट अलग भइ रुसमा विलय हुने पक्षमा देखिएको त्यहाका निर्वाचन अधिकारीहरुको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्राइमिया युक्रेनकै अधिनमा रहने वा रुसमा विलय हुने भन्ने विषय टुग्याउन भएको मतदानमा यस्तो परिणाम देखिएको हो ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले क्राइमियाली जनताको इच्छाको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । तर, अमेरिका र युरोपेली संघले भने जनमत संग्रहलाई नै अवैधानिक बताएका छन् ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेन टुक्र्याउने कदमको मूल्य चुकाउन तयार रहन रुसलाई चेतावनी दिएका छन् । निर्णयबाट रुष्ट बनेका युरोपेली राष्ट्रहरुले भने युक्रेन टुक्र्याएर आफ्नो देशमा गाभ्न लागेको भन्दै रुसमाथि थप आर्थिक नाकाबन्दी गर्ने भएका छन् ।
विदेश मन्त्रीहरुको बैठक बसेर रुसका अधिकारीहरुको भिसा बन्द गर्नुका साथै उनीहरुका सम्पत्ति रोक्का गर्नेसम्मको कदम चालिने भएको छ । युक्रेनमा भिक्टर यानीकोभिचलाई राष्ट्रपतिबाट अपदस्थ गरेलगत्तै क्राइमिया रुसी सेनाको नियन्त्रणमा छ । रुस समर्थित यानोकोभिचलाई हटाइएपछि रुसी भाषीको बाहुल्य रहेको क्राइमियाले युक्रेनबाट अलग हुने निर्णय गरेको थियो । त्यहाँको संसदले यसअघि नै रुसमा गाभिने पक्षमा मतदान गरिसकेको छ । रणनीतिक हिसाबले महत्वपूर्ण क्राइमिया क्षेत्र सन् १९५४ सम्म रुसी अधिनमा थियो भने त्यसपछि युक्रेनलाई हस्तान्तरण गरिएको थियो । (एजेन्सी)
Comments




