फागुन ३ । इकोनोमी रेटको आधारमा बलिङ गर्ने विश्वकै नवौं बलर शक्ति गौचन बनेका छन् ।
आइतबार बंगलादेशको चटगाउँमा हङकङबिरुद्ध भएको खेलमा शक्तिले हङकङबिरुद्ध २ दशमलव २५ को ‘इकोनोमी रेट’ ले ४ ओभरमा ९ रन खर्चर्दै तीन विकेट लिएका थिए।
उक्त खेलमा नेपालले हङकङलाई ८० रनले हराएको थियो भने शक्ति नै म्यान अफ दि म्याच समेत बनेका थिए । सोही खेलमा शक्ति भने इकोनोमी रेटको आधारमा बलिङ गर्ने विश्वकै नवौं बलर समेत बने ।
एउटै इनिङमा उत्कृष्ट इकोनोमी रेटमा बलिङ गर्ने बलरमा श्रीलंकाका अजन्था मेन्डिस अग्रस्थानमा छन्। उनले सन् २०१२ को टि–२० विश्वकपमा जिम्बाबेबिरुद्ध श्रीलंकाकै हम्बाटोटामा २ को ‘इकोनोमी रेट’ मा ४ ओभरमा २ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिएका थिए।
दोस्रो स्थानमा बंगलादेशका महमुदुल्ला छन्। उनले आइतबारदेखि सुरु भएको पाँचौ टि–२० विश्वकपमै नेपालभन्दा अगाडि खेलिएको खेलमा अफगानिस्तानबिरुद्ध २ को ‘इकोनोमी रेट’ मा ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर १ विकेट लिएका थिए।
तेस्रो स्थानमा पाकिस्तानका उमर गुल छन्। उनले २००९ मा न्युजिल्यान्डबिरुद्ध २ कै ‘इकोनोमी रेट’ मा ३ ओभरमा ६ रन खर्चदै ५ विकेट लिएका थिए।
चौथो स्थानमा दक्षिण अफ्रिकाका डेल स्टेन छन्। उनले पनि २ को ‘इकोनोमी रेट’ को आधारमा सन् २०१० मा अफगानिस्तानबिरुद्ध ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिएका थिए। यो सूचीमा इङ्ल्यान्डका समित पटेल पाँचौ स्थानमा छन्। उनले पनि सन् २०१२ को विश्वकपमा अफगानिस्तानबिरुद्ध २ को ‘इकोनोमी रेट’मा ३ ओभरमा ६ रन खर्चेर २ विकेट नै लिएका थिए।
२०१२ कै विश्वकपमा आयरल्याण्डबिरुद्ध ३ दशमलव ४ ओभरमा ८ रन खर्चेर २ दशमलव १८ को ‘इकोनोमी रेट’मा ३ विकेट लिएका वेष्ट इन्डिजका डारेन सामी छैटौ स्थानमा छन्। श्रीलंकाकै मेन्डिस २ दशमलव २५ को औसतमा सन् २००९ मा वेष्ट इन्डिजबिरुद्धको खेलमा सातौं तथा स्टेन २०१२ मा जिम्बाबेबिरुद्ध २ दशमलव २५ कै औसतका कारण आठौं स्थानमा छन्। 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।