काठमाडौं ३ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनर र सरकारबीच सोमवार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको उक्त वार्तामा विद्यार्थी नेताहरुले मूल्यवृद्धि फिर्ताको मागलाई प्रमुख मुद्दा बनाएछि वार्ता निष्कर्ष विहीन भएको हो ।
प्रधानमन्त्री कोइरालाको निर्देशनपछि वाणिज्य सचिव माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठन भएको सात सदस्यीय वार्ता कमिटीले भने वार्तामा आयल निगम सुधार र भ्रष्ट्राचार नियन्त्रणका लागि छानबिन समिति बनाएर जान सकिने अडान राखेको थियो । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ताको लागि निर्देशन दिएपछि वार्ता सुरु भएको थियो ।
विद्यार्थी संगठनले वार्तामा जानुअघि बागबजारको पद्मकन्या क्याम्पसमा सामूहिक छलफल गरेका थिए । उक्त वार्तामा विद्यार्थी नेताहरुले मूल्यवृद्धि फिर्ताको मागलाई प्रमुख मुद्दा बनाएका थिए । ‘सरकार मूल्यवृद्धि फिर्ताको मागमा सकारात्मक नभएपछि कुनै निष्कर्ष निकाल्न सकिएन,’ अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले भने । नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने वार्ता सकारात्मक रहेको र भोलि थप कुरा हुने बताए ।
सरकारले गत शुक्रबार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको थियो । पेट्रोलमा १० र डिजल, मट्टितेल र हवाई इन्धनमा ६–६ रुपैयाँ मूल्य बढाएको थियो । मूल्य बढाएपछि १७ विद्यार्थी सङ्गठनका नेताहरुले आइतवार प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमा भेटेर ज्ञापनपत्र बुझाएका थिए । सरकारले विश्व उपभोक्ता दिवसको अघिल्लो दिन पारेर गत शुक्रबार इन्धनमा भारी मूल्य वृद्धि गरेपछि सर्वत्र विरोधमा उत्रिएका ती विद्यार्थी सङ्गठनका नेताहरुले प्रधानमन्त्री कोइरालालाई भेटेर मूल्यवृद्धि फिर्ता लिन ज्ञापनपत्र मार्फत ध्यानाकर्षण हुन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।