सिंहदरबारलाई चार दलले दिल्ली पुर्याए : सचिव गुरुङ

फागुन २७ – नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले सिंहदरबारलाई दिल्ली पुर्याएको बताएका छन् ।

डा बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई बचाउनकै लागि चार ठूला दलले न्यायालय र दलीय संयन्त्र तथा अन्तरिम संविधानलाई कमजोर बनाउन खोजेको उनको ठम्याई छ ।

आदिवासी–जातीय क्षेत्रीय महासङ्घ तमुवान राज्यले पोखरामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै गुरुङले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीमा स्वीकार गरे साम्राज्यवादी र विस्तारवादीले देशलाई ध्वस्त पार्ने ठोकुवा गरे ।

विदेशी शक्तिकेन्द्रको योजना बमोजिम प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्न खोजिएको बताउँदै उनले वर्तमान सरकारलाई बचाइराख्न मुख्य दलले यो रणनीति अपनाएको मात्र बताए ।

प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरे जेठमा चुनाव गर्ने कुरा उठाउनुको कुनै आधार र औचित्य नभएको भन्दै यो सबै सत्ता टिकाउने खेल मात्र भएको उनले उल्लेख गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।