फागुन २७ – आउँदो चैत १ देखि ९ गतेसम्म हुने एसएलसी परीक्षाको तयारीका लागि परीक्षा नियन्त्रण कार्यालयले सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले सबै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइएको र त्यसको सुरक्षाको प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
एजुकेसन हेल्प लाइन र शिक्षा पत्रकार समूहद्वारा यहाँ आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उपनियन्त्रक अर्यालले कुल पाँच लाख ४६ हजार १६५ आवेदक रहेको यस परीक्षाका लागि एक हजार ७८६ केन्द्र निर्धारण गरिएको बताउनुभयो ।
उहाँले पूर्वाञ्चलमा मात्रै ४३८ तोकिएको र त्यसमा मोरङमा सबभन्दा बढी ६३ तथा सोलुखुम्बुमा सबभन्दा कम १२ वटा केन्द्र रहेको बताउनुभयो ।
कुल आवेदकमध्ये दोहोरो रजिष्ट्रेसन दिने विद्यार्थीबारे छानबिन भइरहेकाले केही सङ्ख्या घट्न सक्ने अर्यालले जानकारी दिनुभयो ।
परीक्षाका क्रममा चिट चोर्ने, चोराउने वा होहल्ला गर्नेलाई जनही रु एक लाखसम्म जरिवाना र ६ महिना कैद गर्न सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चलका निमित्त शिक्षा निर्देशक सुन्दर शाक्यले परीक्षा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक पर्ने तथा परीक्षाको मर्यादा कायम राख्न शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले परीक्षामा अनुगमनका क्रममा उल्टै मर्यादा उल्लंघङ्न गर्ने तथा केन्द्राध्यक्ष निर्धारणका नाममा राजनीतीकरण गर्ने प्रवृत्ति बढेकाले निश्चित मापदण्डका आधारमा अनुगमनकर्ता र केन्द्राध्यक्ष तोकिने जनाउनुभयो ।
शिक्षक युनियन नेपालका जिल्ला अध्यक्ष पीतकुमार श्रेष्ठले अनुगमनका नाममा भीड थुपारेर परीक्षाको मर्यादा विथोल्ने कार्य हुने गरेको बताउनुभयो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) का जिल्ला अध्यक्ष खुम्बुसिंह बस्नेत, अभिभावक सङ्घ नेपालका क्षेत्रीय अध्यक्ष देवी पन्थी, एजुकेसन हेल्पलाइनका अध्यक्ष राजेन्द्र ढकाल, समूहका अध्यक्ष प्रकाश सिलवाललगायतका वक्ताले परीक्षाको मर्यादा रहेमात्र गुणस्तरीय शिक्षा कायम हुन सक्नेमा जोड दिनुभयो । रासस