काठमाडौं
तत्कालिन एमाओवादीबाट विभाजनपछि बनेको नयाँ शक्तिमा रहेका बरिष्ठ नेता देवेन्द्र पौडेलसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
नयाँ शक्ति परित्याग गरेका पौडेल नेतृत्वको समूह मंगलबार औपचारिक रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको हुन् । पौडेल पक्षले पार्टी प्रवेश नभएर नयाँ शक्ति पार्टी नेपाल र माओवादी केन्द्रबीचको ‘ध्रुविकरण’ भएको जनाएको छ ।
कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरेका पदम खड्का जीवन नेतृत्वको समूह पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
यसअघि परिवर्तनकारी शक्तिहरुबीच वृहत ध्रुविकरण आवश्यक रहेको भन्दै देवेन्द्र पौडेल नेतृत्वको समूहले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको साथ छाडेको थियो ।
केन्द्रमा रामबहादुर थापा बादलको नेतृत्वमा संयोजन कार्यदल समेत बनेको छ । कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लव निकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का छन् ।
पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, पासाङ शेर्पा लगायतले वर्गीय र जातीय मुद्धालाई वैज्ञानिक ढंगले समात्ने पार्टी माओवादी भएको र परिवर्तनको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आवश्यकता बताएका थिए ।
कार्यक्रममा नयाँ शक्ति नेपालका १६ जना केन्द्रीय सदस्य र २७० भन्दा बढी केन्द्रीय परिषद सदस्य माओवादी केन्द्रमा ध्रुवीकृत भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपाबाट पनि माओवादी केन्द्रमा ३५० जना नेता–कार्यकर्ता प्रवेश गरेका छन् ।
Comments







