कवि साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको १० औं स्मृति दिवसको अवसरमा आज बिहान प्रभात फेरि गरिएको छ ।

क्रान्तिकारी पत्रकार संघको आयोजना शान्ति वाटिकाबाट सुरु भएको प्रभातफेरि इच्छुकलाई हत्या गरिएको हालको नेपाल पुलिस क्लब अगाडी आएर समापन भएको थियो ।  

प्रभातफेरि पछि आयोजित कोणसभामा विभिन्न व्यक्तित्वहरुले उनलाई संघर्षको मुक्तियोद्धा भएको भन्दै विचार, आस्था र उद्देश्यमा जहिल्यै लडिरहने इच्छुकबाट अहिलेको वर्गले पनि धेरै कुरा सिक्न आवश्यक रहेको उल्लेख गरेका छन् । 
कार्यक्रमममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले इच्छुक आस्था, विचार र उद्देश्यको प्रतिवान भएको जनाए । उनले प्रेस आक्रमण गर्नेले इतिहासमा महंगो मूल्य चुकाउनुपर्ने पनि जनाए । 
प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्माले इच्छुक मुक्ति योद्धा भएको बताए । क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहालले इच्छुक निरन्तर संघर्षको अर्को नाम भएको बताए । प्रेस युनियनका किरण भण्डारीले वर्तमान पुस्तालाई उनको सन्देश प्रेषित गराउनका लागि उनको सम्झना गर्नु परेको बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले आफ्नै पार्टी नेतृत्वको सरकार छँदा पनि आफ्नै पार्टीसँग सम्बन्धितहरुको खोजि नगरेको भन्दै आश्चर्य, अनौठो र आक्रोश पोखेका थिए । कतिपय वक्ताहरुले त नेतृत्व अब कुर्सी सत्ता र विदेशीको चाकरीमा फसेकाले शहिद, जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा वेपत्ता परिवारमाथि कुठराघात गरेको पनि उल्ले गरेका थिए ।
जनादेश साप्ताहिकका तत्कालीन प्रधानसम्पादक रहेका इच्छुकलाई २०५९ साल जेठ ६ गते काठमाडौँबाट पक्राउ गरी जेठ १३ गते निर्मम यातना दिएर हालको नेपाल पुलिस क्लबभित्रै हिरासतमा हत्या गरिएको थियो ।


विं सं २०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा जन्मिएका इच्छुकको स्थायी घर अर्घाखाँची हो ।

राष्ट्र र जनतालाई चेतना दिनका लागि साहित्य र पत्रकारीताबाट आवाज उठाउन उनी कहिल्यै पछि परेनन् । उनले आफूबन्दी जीवनमा रहँदा पनि सँधै कु शासनका विपक्षमा कलम चलाई नै रहे । उनले देश र जनताको पक्षमा कलम चलाएकै कारण भौतिक रुपमा हामीबाट टाढा भएपनि उनी एक अमर महानताका रुपमा हामी सबैसँग भने रहीरहनेछन् ।

यसैबीच, इच्छुकको सम्झनामा हरेक वर्ष प्रदान गरिने १० हजार रासीको कृष्णसेन स्मृति पुरस्कार राज्यद्धारा बेपत्ता पारिएका जनादेशका प्रबन्ध निर्देशक मिलन नेपालीको नामबाट उनकी जीवनसाथि सविता बस्नेतलाई प्रदान गरिएको छ ।
पुरस्कार छनोटका लागि पत्रकार महासंघका महासचिव ओम शर्मा, खिला भण्डारी र बलराम थापाको एक टोलि गठन गरिएको थियो ।

            इच्छुकको १० औं स्मृति दिवसको अवसरमा आज बिहान गरिएको प्रभातफेरिका दृश्यहरु :

<

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।