काठमाडौं । औषधी व्यवस्था विभाग (डिडिए) ले उजुरी परेको चार दिनपछि भएपनि कभर एउटाको तर औषधी अकैं भएको भारतीय कम्पनी युमेडिकाद्धारा उत्पादित युझोलिन–१००० को बिक्री वितरण रोक्का गर्न निर्देशन दिएको छ ।

मेडिकल सञ्चालकले गत मंगलबार नै औषधीको कभर एउटा भएको र भित्र औषधी अर्कै परेको भन्दै विभागका अधिकारीसमक्ष गुनासो गरेका थिए । तर, विभागले सुने नसुनै गरेर बस्दै आएकोमा हेलोखबर डटकममा त्यस सम्बन्धी समाचार प्रकाशित भएपछि आज शुक्रबार विभागको टोली बजारमा गएर कैफियत देखिएको औषधी नमुनाका लागि संकलन गरेर ल्याएको थियो ।

आजै विभागले एक सूचना जारी गर्दै ब्याच नम्बर V30041, Mfg date: 05/2020 को औषधीमा लेबलिङ इरर रहेको भन्दै औषधी प्रयोग नगर्न/नगराउन र उक्त औषधीको बिक्री वितरण अबिलम्बब रोक्का राखी सम्बन्धित आपूर्तिकर्तालाई फिर्ता गर्न निर्देशन दिएको छ ।

यसअघि, युमेडिकाको नेपालस्थित आधिकारिक बिक्रेता फर्माकेयर ईन्टरनेशनल प्रा।लि बानेश्वरका सञ्चालक तथा औषधी व्यवसायी संघका केन्द्रीय सदस्य श्रीजन भट्टराईले कम्पनीबाट गल्ती भएको जनाउँदै देशभरीबाट उक्त ब्याचको औषधी रिकल गर्ने बताएका थिए । तर, उनले रिकल भने गरेका थिएनन् ।

युमेडिका ल्याबोरेटोरिज प्रा।लिद्धारा उत्पादित युझोलिन–१००० को बाहिरी खोल (औषधीको बट्टाको कभर) एउटा र भित्र औषधी अर्कै हालेर बजारमा बजारमा खुलेखुलाम बिक्री हुँदै आएको थियो । टिचिङ हस्पिटल अगाडीको एक मेडिकल पसलमा ५५ मध्ये २६ वटामा यस्तो कैफियत देखिएको थियो । क्षेत्रपाटीको एक मेडिकल पसलमा पनि उक्त औषधीमा कैफियत फेला परेको थियो ।

मेडिकल सञ्चालकहरुले कम्पनीले मानिसको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको आरोप लगाउँदै यसको उत्पादन कम्पनी र बिक्रेता कम्पनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् । विभागले भने ल्याबमा परीक्षण गरेपछि थप तथ्य पत्ता लगाएर कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । विभागले प्रारम्भिक रुपमा कम्पनीको गल्ती देखिएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।