काठमाडाैं २४ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्मातामात्र नभइ उपभोक्ताहरू पनि जिम्मेवार हुनुपर्ने बताएका छिन् । सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर मनपा–२२ ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिइन् ।

आफू निरन्तर देशको विकास र जनताको सेवामा लाग्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, “मैले मेरो तहबाट बजेट तथा योजनाका लागि पहल गर्छु । तपाईँ उपभोक्ताहरूले हरेक गतिविधिको नियमन गर्नुपर्छ ।” आफूले पहल गरेर ल्याएको योजना कार्यान्वयनमा ढिलाइ भएकाले जनस्तरबाटै खबरदारी आवश्यकता औँल्याउँदै उनले भनिन्, “बुङ्मतिको मुख्य बाटोमा रु २५ करोडसम्म बजेट बिनियोजन भयो तर पूरा भएको छैन ।”

विसं २०७२ सालमा भत्किएको रातो मच्छिन्द्रनाथको काम ढिलो भएको र उपभोक्ताकै कारण निर्माण कार्य अगाडि बढेको उल्लेख गर्दै स्थानीय उपभोक्ता नै आफ्नो क्षेत्रको संस्कृति संरक्षण र विकास निर्माणमा जिम्मेवार भएर लाग्नुपर्ने बताइन्। आफ्ना आवश्यकता पहिचान गरेर ल्याउन आग्रह गर्दै मन्त्री भुसालले जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

विभिन्न कालखण्डमा शुरु भएका चाडवर्षका एतिहासिक एवं सामाजिक महत्व रहेको उल्लेख गर्दै उनले भनिन्, “चाडपर्वका सांस्कृतिक एवं सांस्कृतिक पाटाहरू अत्यन्त राम्रा छन् । यसअर्थ चाडपर्वलाई निरन्तरता दिने र समयअनुसार परिमार्जन गर्ने नै आजको आवश्यकता हो ।”

देशको भुगोल र जनतामात्र नभइ त्यस देशको संस्कृतिक पहिचान र सामाजिक मूल्य मान्यता, कला, जनताका जीवन व्याबहार महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री भुसालले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने, सम्वन्धलाई सुदृढ गर्ने गर्ने महत्वपूर्ण चाडवाडका सबैको आ–आफ्नै महत्व भएको बताइन् ।

कार्यक्रममा स्थानीय जनतप्रतिनिधि एवं सामाजिक व्यक्तिहरूले आसन्न राष्ट्रिय चाडहरू बिजया दशमी, तिहार, नेपाल सम्बत र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । त्यसैगरी ऊर्जामन्त्री भुसालले आजै ललितपुर महानगरपालिका वडा नं १० स्थित बाराही टोल विकास संस्थाको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन गरिन् । त्यस अवसरमा उनले विकास निर्माणलाई व्यवस्थित गर्न सबै नेपाली दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिइन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।