कांग्रेस– सञ्चार, रक्षा, भौतिक, कानुन, कृषि, वाणिज्य, सहकारी, खानेपानी, सिचाई, खेलकुद
माओवादी– उर्जा, स्वास्थ्य, सामान्य, पशुपंक्षी, आपूर्ति, महिला
फोरम– पर्यटन, भूमि सुधार
नेकपा संयुक्त– जनसंख्या तथा वातावरण
काठमाडौं ११ साउन

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लगाएका छन् । मन्त्रालय भागबन्डाको टुंगो लगाएसँगै दुवै दलले मन्त्रीहरुको अन्तिम टुंगो समेत लगाएका छन् ।
नेपाली कांग्रेस १३ र माओवादी केन्द्र ९ मन्त्रालय पाउने समझदारी अनुसार दुवै दलले मन्त्रालयको टुंगो मंगलबार मध्याह्नपछि मात्र लगाएका हुन् ।
दुई दलको सहमति अनुसार कांग्रेसले सूचना तथा सञ्चार, रक्षा, भौतिक योजना तथा यातायात मन्त्रालय, कानुन, कृषि, वाणिज्य, सहकारी, खानेपानी, सिचाई, खेलकुद मन्त्रालय पाउने भएको छ । कांग्रेसले यसअघि अर्थ, शिक्षा सम्हालिसकेको छ ।
यस्तै, माओवादी केन्द्रले उर्जा, स्वास्थ्य, सामान्य, पशुपंक्षी, आपूर्ति, महिला पाउने भएको छ । माओवादीले यसअघि गृह, पर्यटन र सहकारी मन्त्रालय सम्हालिसकेको छ ।
यस्तै उपप्रधान तथा स्थानीय विकास मन्त्री सम्हालिसकेको विजयकुमार गच्छदार नेतृत्वको जनअधिकार फोरम लोकतान्त्रिकले पर्यटन र भूमि सुधार मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्रीको निजि सचिवालयले आज साँझसम्म मन्त्रीपरिषद विस्तार हुने बताएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार नै सकार विस्तारको तयारी गरेपनि पार्टीभित्रको विवाद र अन्य दलसँग मन्त्रालय बाँडफाँडको विषय मिल्न नसक्दा आजका लागि सरेको हो । 
प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी केन्द्रसँग मन्त्रालयको भागबन्डा २ बजेमात्र टुंगिएको र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई २ बजेसम्म मन्त्रीहरुको नामावली माग गरेकोमा साँझ ६ बजे मात्र बुझाएकाले मन्त्रीपरिषद मंगलबार हुन नसकेको हो । कांग्रेसबाट १० र माओवादी केन्द्रबाट ६ मन्त्री आज सरकारमा सहभागी हुनेछन् । यस्तै फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जनालाई पनि सरकारमा सहभागी गराएर मन्त्रीपरिषद  विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।