काठमाडौं ८ पुष । अमेजन कम्पनीले दुई दशकभन्दा बढी समयदेखि वेब ट्राफिक विश्लेषण प्रदान गर्दै आएको एलेक्सा डटकमलाई बन्द गर्ने घोषणा गरेको छ । एलेक्सा १९९६ मा स्थापना भएको थियो भने १९९९ मा अमेजनले किनेका थियो । अमेजनले आगामी १ मे २०२२ बाट साइट बन्द गर्ने घोषणा गरेको हो ।

एलेक्सा विश्व भरीका वेबसाइटहरूको श्रेणीकरण अर्थात र्‍याङ्किङका लागि परिचित मानिन्छ । नेपालमा पनि एलेक्सा र्‍याङ्किङका आधारमा कर्पाेरेेट हाउसहरुले विज्ञापन उपलब्ध गराउने गरेका थिए । एलेक्सा र्‍याङ्किङ पछिल्ले पटक विवादमा आउन थालेको थियो । पेडका आधारमा यसको र्‍याङ्किङ फरक परेपछि एलेक्सा विवादित बन्दै आएको थियो ।

‘पच्चीस वर्ष पहिले, हामीले एलेक्सा इन्टरनेट स्थापना गरेका थियौं । तपाईंले आफ्नो डिजिटल दर्शकहरू फेला पार्न, पुग्न र रूपान्तरण गर्न मद्दत गरेको दुई दशकपछि, हामीले मे १, २०२२ मा एलेक्स डटकमको सेवाबाट अवकाश लिने कठिन निर्णय गरेका छौं।’ एलेक्सा डटकमको राखिएको सुचनामा उल्लेख छ ।

एलेक्साका सेवाहरूको सशुल्क प्रयोगकर्ताहरूले तिनीहरूको डेटा निर्यात गर्न र तिनीहरूको खाता मेटाउन सक्ने जनाइएको छ । एलेक्साले ८ डिसेम्बर २०२१ बाट नयाँ सदस्यहरु लिन बन्द गरिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।