Thursday, October 1, 2026
26.1 C
Kathmandu
Home मुख्य समाचार यो हो २८ करोड राजस्व छलीका आरोपितको घर

यो हो २८ करोड राजस्व छलीका आरोपितको घर

परवानीपुर, बारा — पर्साको वीरगन्ज बजारबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने बाराको परवानीपुर चोकबाट थप करिब पाँच किलोमिटर उत्तरपूर्व लागेपछि उमाशंकर रायभरको घर पुगिन्छ । १२ धुर ऐलानी जग्गामा बनेको खपडाले छाएको कच्ची घरको बीचोबीचबाट देखिन्छ खुला आकाश ।

प्रस्ट छ, यो घरले बर्खामा आकाशे पानी र हिउँदमा शीतलहरबाट ओत दिँदैन । पुस पहिलो साताको एक बिहान उमाशंकरको घर पुग्दा चिसोले कठ्यांग्रिएर रुँदै गरेकी एक वर्षकी छोरी अञ्जलीलाई फुलाउन कोसिस गर्दै थिइन् आमा सोनम । ‘श्रीमान् जेल चलान हुँदा छोरी दुई महिनाकी थिई, अहिले एक वर्षकी भई । उनी कहिलेसम्म जेलमा बस्ने हुन् ! मैले एक्लै हुर्काउन कसरी सकुँला !’ उनी निसासिएकी छन् ।

बिहान–साँझ छाक टार्नसमेत धौधौ हुने परिवारका कान्छा छोरा हुन् उमाशंकर । तर विडम्बना, उनी करिब २८ करोड रुपैयाँ कर छली गरेको अभियोगमा नख्खु कारागारमा छन् । मुलुकको प्रमुख कार्यकारी शक्ति अभ्यास गर्ने प्रधानमन्त्रीको कार्यालयमातहत रहेको राजस्व अनुसन्धान विभागले गरेको ‘अनुसन्धान’ मा आधारित भएर उच्च सरकारी वकिलको कार्यालयले उमाशंकरमाथि ‘नक्कली, जालसाजी तथा झूटो मूल्य अभिवृद्धि कर बीजक बनाई राजस्व चुहावट गरेको प्रमाणित भएको’ भन्दै मुद्दा चलाएको छ ।

उमाशंकरलाई छुटाउन सकिन्छ कि भनेर उनका दाइ काठमाडौं धाइरहेका छन् । तर उनले बस भाडासमेत ऋणमा खोज्नुपर्छ । ‘भाइलाई २८ करोड रुपैयाँ राजस्व छल्यो भनेर मुद्दा चलाइएको छ । उसले त्यत्रो अपराध गरेको भए हाम्रो हालत यस्तै हुन्थ्यो हो त ?’ सन्तोष भन्छन्, ‘राजस्व अनुसन्धान विभाग, सरकारी वकिल, अदालत ती सबैले के हेरेर/के देखेर मेरो भाइलाई जेलमा कोचेका होलान् ? के अनुसन्धान गरे होलान् ? त्यो पैसा कति हो भनेर हामीले अनुमान पनि गर्न सक्दैनौं, ठगी कसरी गर्नु ?’

राजस्व अनुसन्धान विभागले उमाशंकरलगायत १७ जनामाथि उच्च अदालत पाटनमा मुद्दा चलाएको छ । तारिख पाएपछि उनी बाटो खर्च खोजेर गत वर्ष फागुन १९ मा पाटन उच्च अदालतमा उपस्थित भएका थिए । न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमले ‘७५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक जमानत धरौटीस्वरूप दिन नसकेमा थुनुवा पठाउनू’ भन्ने आदेश दिए ।

ऐलानीमा बनेको छाप्रोले ७५ लाख धरौटी धान्न सक्ने कुरै भएन, उनलाई अदालतबाटै पक्रेर सिधै नख्खु कारागार पठाइयो । यसबीचमा दाइ सन्तोषले ६ पटक बारा–काठमाडौं गरिसकेका छन् । कानुनको आँखामा पट्टी बाँधिएको हुन्छ भन्छन्, तैपनि अदालतले कतैबाट विवेक प्रयोग गर्छ कि भन्ने आशा बोकेर उनी काठमाडौं आउँछन् । काठमाडौंमा गाउँबाट आएका चिनेजतिका व्यक्तिलाई सम्पर्क खोजेर भेट्न पुग्छन्, गुहार माग्छन्, निराश भएर फर्किन्छन् । ‘अहिले छैटौं पटक आउँदा बल्ल एक जना वकिल भेटें । उसले जग्गा धरौटीमा राखिदिने एक जना दलाल भेटाइदियो । तर त्यसरी उसको जग्गा धरौटी राखिदिएबापत १७ लाख रुपैयाँ माग्यो । त्यत्रो पैसा कहाँबाट ल्याउनु ? त्यो पनि काम लागेन,’ गत बिहीबार काठमाडौंबाट बारा फर्कनुअघि सन्तोषले कान्तिपुरसँग भने ।
उमाशंकरमाथि राजस्व अनुसन्धान विभागले काठमाडौंमा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालि दर्ता गरी जालसाजी तथा झूटो कर बीजक जारी गरेर राजस्व चुहावट गरेको अभियोग लगाएको छ । यी दुई कम्पनीमार्फत क्रमशः १५ करोड ८७ लाख ७ हजार र १२ करोड ३ लाख गरी २७ करोड ९० लाख रुपैयाँ कर छलेको अभियोग उनीमाथि छ । उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दर्ता गरेको अभियोगपत्रमा उमाशंकरले राजस्व छलेको भनिएको रकम बराबर जरिवाना साथै मुद्दा फैसला हुने समयसम्मको थप जरिवाना र पाँच वर्षसम्म कैद गर्न माग गरेको छ ।
सानैमा आमा गुमाएका उमाशंकरको घरमा बिरामी बुबा, दाजु–भाउजू, श्रीमती र सन्तान छन् । काठमाडौंमा सिलाइकटाइ गरिरहेका दाजु सन्तोषको एक्लो कमाइले परिवारको भरथेग भइरहेको थिएन । गाउँकै उमाशंकर सहनीको साथ लागेर १६ वर्षकै उमेरमा काठमाडौं आउँदा उमाशंकर रायभरको सपना थियो– मोटरसाइकल मेकानिक बन्ने र दाइको बोझ घटाउने । मोटरसाइकल ग्यारेजमा काम सिक्न सुरु गरेका उनलाई एक दिन तिनै सहनीले भेटेर राम्रो काम र तलब दिने आश्वासन दिँदै नागरिकता लिएर आउन अह्राए । सहनीसँग सर्लाहीको गोडैता–८ स्थायी ठेगाना भई काठमाडौंको कोटेश्वर बस्दै आएका सरोजकुमार मिश्र पनि आएका थिए । भोलिपल्ट रायभरले नागरिकताको फोटोकपी बुझाए । मिश्र र सहनीले थप कागजात ल्याएका थिए, त्यसमा रायभरले औंठाछाप लगाइदिए । फोटो खिचे र कागजातमा टाँसे । बाराको सरकारी स्कुलमा ५ कक्षासम्म पढेका रायभरले आफूले ल्याप्चे लगाइदिएका कागजात पढेनन् । उनको बायाँ आँखामा सानैदेखि समस्या पनि छ । -कान्तिपुरबाट साभार


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।