शिक्षा क्षेत्र सुधारको योजना बोकेर प्रधानमन्त्रीकोमा पुगे शिक्षामन्त्री

काठमाडौं १९ फागुन । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारको योजना बोकेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा शिक्षा क्षेत्रको सुधारको विषयमा छलफल भएको मन्त्री पौडेलले बताए । ‘प्राविधिक शिक्षाको सुधार, मेडिकल शिक्षाको सुधार लगायतका विषयमा प्रधानमन्त्री ज्यूसँग छलफल भयो, विशेष गरेर शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्न जोड दिएको छु’ उनले भने, ‘प्रधानमन्त्री ज्यू शिक्षा क्षेत्रको सुधारको विषयमा सकरात्मक हुनुहुन्छ ।’

प्रधानमन्त्रीसँगको भेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयलाई सरल र सहज बनाउने, सात वटै प्रदेशमा मेडिकल कलेज खोल्ने विषयमा पनि छलफल भएको छ ।

यसअघि, मन्त्री पौडेलले बजेटको ठूलो हिस्सा तलब भत्तामै खर्च हुने भएको भन्दै शैक्षिक सुधारका योजनामा बजेट अपुग भएकाले २० प्रतिशत बढाउन भन्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनारायण पौडेलसँग छलफल गरेका थिए । छलफलका क्रममा उनले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रका लागि आवश्यक बजेट नभएको भन्दै शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका थिए ।

शिक्षाको बजेट धेरै तलबमा जाने गरेकाले शिक्षा सुधारका लागि मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउन उनको माग थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।