काठमाडौँ । विद्युतीय कार निर्माण कम्पनी टेस्ला र सामाजिक सञ्जाल ट्वीटरका मालिक इलन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाउने नयाँ विश्व कीर्तिमान राखेका छन् ।विश्वका धनाढ्यहरूको सूचीको दोस्रोमा रहेका उनले सन् २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म १ खर्ब ६५ अर्ब अमेरिकी डलर गुमाएका हुन् ।
विश्व कीर्तिमानबारे अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ ।
ब्लगमा उल्लेख गरिएका विवरणहरू फोर्ब्सले सार्वजनिक गरेका तथ्यांकमा आधारित भएका गिनिजले जनाएको छ । अन्य स्रोतबाट उपलब्ध विवरणहरूअनुसार भने मस्कले एक वर्षको अवधिमा गुमाएको सम्पत्ति अझै धेरै हुन सक्ने देखिएको ब्लगमा उल्लेख छ । विद्युतीय कार निर्माण कम्पनी टेस्लाको सेयरमा आएको उच्च गिरावटका कारण उनले उक्त सम्पत्ति गुमाएका जनाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि उनी थप चर्चामा आएका थिए । मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका थिए । जसका कारण टेस्लाको सेयर अप्रत्याशित रूपमा घटेको थियो । ट्वीटर खरिद गरेसँगै टेस्लाका लगानीकर्ताहरू मस्कले कार निर्माण कम्पनीलाई समय नदिने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यसअघि जापानी प्रविधि लगानीकर्ता मासायोसी सोनले सन् २००० मा ५८.६ अर्ब अमेरिकी डलर गुमाएका थिए । उक्त कीर्तिमान मस्कले तोडेका हुन् । मस्कले गुमाएको सम्पत्तिको विवरण उनको स्वामित्वमा रहेका सेयरमा आएको गिरावटका आधारमा निकालिएको हो । जसका कारण सेयरको मूल्य पुनः बढेको खण्डमा भने उनको गुमेको सम्पत्ति फेरि बढ्न सक्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।