उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
काठमाडौँको सोह्रखुट्टे पानी पोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए ।
उनले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए । उनले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए ।
मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरू पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए । उनले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताए । उनले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसभ्म्भार हुनुपर्ने बताए ।







