काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसाको लेनदेन सम्बन्धी आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै कराडौं असूली गरिएको प्रकरणको अनुसन्धान गरिरहेका बेला दुई महिना अघि कांग्रेस सांसद् आरजु राणा र मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भएका थियो । त्यो अडियो सम्वादमा दाङका सन्देश शर्माले अर्का व्यक्तिसँग आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको जिकिर गरेका थिए ।

प्रहरीका अनुसार पीडितहरुले डेढ वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा जाहेरी दिँदा उपलब्ध गराएको ८ मिनेट २० सेकेण्डको अडियोमा आरजु र मञ्जु जोडिएको ‘क्लीप’ पनि बुझाएका थिए । चैत २०७९ मा आरोपितहरु पक्राउ गरेर अनुसन्धान थालेपछि एकाएक राणा र खाँणको नाम उल्लेख भएको अंश बाहिरिएका थियो ।

यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले छानबिन गर्न भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर फेक अडियो बदनियतपूर्ण ढंगबाट रेकर्ड गराइएको भन्दै उनले २७ वैशाखमा प्रहरीमा उजुरी दिएकी थिइन् । र, अडियोबारे ‘अत्याधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही’ गर्न माग गरेकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।