काठमाडौं । भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । यो सम्झौताले अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने एमालेको आशंका छ ।
राज्य व्यवस्था समितिको शुक्रबार बिहानको बैठकमा नेकपा एमालेका सांसद रघु जी पन्तले सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउने भन्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश गर्ने वातावरण भएको बताएका छन् ।
भारतीय दूतावासले सुरुमा ३ करोड, ५ करोड हुँदै अहिले २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौताले एकदमै चिन्ता लागेको पन्तले बताए । यो सम्झौताले नेपालको स्वतन्त्र निर्णय गर्न सक्ने अधिकारलाई पनि रोक्ने भन्दै उनले प्रधानमन्त्रीलाई विचार गर्न आग्रह गरेका थिए ।