प्रधानमन्त्रीले पिएको मेलम्चीको पानी, कसरी भयो उपभोक्तामा पुग्दा धमिलो लेदो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अगाडी भागमा छन्- धारा खोलेपछि उनले हात थापेर पानी पिउँछन् । त्यसपछि सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा लगायतका मन्त्रीहरु पनि धाराको पानी पिउँदै शिरतिर छर्किन्छन् ।

यो माथिको पृष्ठभूमि माघ १ गते सिंहदरबारभित्र मेलम्चीबाट ल्याइएको पानी पुनःवितरण गर्दै गर्दाको हो । मेलम्चीको पानी चौथो पटक उपत्यकाबासी उपभोक्तालाई वितरण सुरु गरिएको छ।
सोही पानी कतिपय उपभोक्ताको धारोमा भने धमिलो र लेदो आएको पाइएपछि अहिले चर्चा र विवादको विषय बनेको छ ।

ढिला गरी काठमाडौंमा पानी
यो वर्ष हिउँद लागेपछि पनि केही ढिला गरी काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याएर वितरण गरिएको हो । भौतिक संरचनाको निर्माणमा ढिलाई र मेलम्चीबासीका कतिपय गुनासा सम्बोधनमा सरकारका सम्बन्धित निकायहरुले चासो कम दिँदा मेलम्चीको पानी उपत्यका आउन ढिलाई भएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा समेत उत्रिएका थिए । केही ढिलाई गरी ल्याइएको मेलम्चीको पानी कतिपय उपभोक्ताको घरमा पुग्दा भने धमिलो भेटिएको पाइएको छ ।

कसरी भयो त मेलम्चीको पानी धमिलो ?
कतिपय उपभोक्ताले मेलम्चीको पानी धमिलो रहेको भन्दै असन्तुष्टि जनाएपछि सरकारले यसबारे स्पष्ट पार्ने प्रयास गरेको छ । खानेपानी मन्त्रालयका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पुराना वितरण पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिला आउनसक्ने भएता पनि फ्लसिंगसँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिर हल्लाहरुको पछि नलाग्न हुन मन्त्रालय र मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरु सबैमा हार्दिक अपिल गर्दछ ।’ मन्त्रालयले भने जस्तै पाइपमा लामो समय पानी नहाल्दा जमेको फोहोरको कारण उपभोक्ताको पुग्दा पानी धमिलो देखिएको पाइएको हो । मन्त्रालयले मेलमची खानेपान आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गारी प्रसारण गरिएको समेत जनाएको छ ।

मन्त्रालयको विज्ञप्ति

सरकारको गाम्भीर्यता
मेलम्चीको पानीको विषयलाई सरकारले गम्भीर रुपमा लिएको समेत पाइएको छ । मेलम्चीको खानेपानी सन्तुलित वितरण भए नभएको तथा धमिलो पानी आएको लगायतका विषयमा अनगुमगन गर्ने उद्देश्यले सरकारले एक समिति समेत गठन गरेको छ । सरकारले पानी वितरणमा कुनै समस्या आएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।