काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताइवान चीनको अभिन्न अंग भएको जनाएको छ । ‘एकीकृत चीन’ पार्टीको नीति भएको पार्टीले जनाएको छ ।

पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्तिमार्फत चीनको दृष्टिकोण र नीतिमा आफ्नो पार्टी र नेपाली जनता दृढताका साथ उभिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको भन्दै एक चीन नीतिको पक्षमा नेकपा रहेको उल्लेख छ ।

शनिबार भएको निर्वाचनमा ताइवानको नयाँ राष्ट्रपतिमा सत्तारूढ पार्टी डेमोक्रेटिक पीपुल्स पार्टी ९डीपीपी०का विलियम लाई विजयी भएका थिए । ताइवान मामिलामा अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले उत्तेजक प्रशंसा गरेर ताइवान र चीनबिच अशान्ति र द्वन्द्व सृजना गर्न खोजिरहेको आरोप लगाएको छ । ‘हाम्रो पार्टी यस प्रकारको उत्तेजक अभिव्यक्तिको घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

विलियम राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बधाई दिँदै ताइवान क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अमेरिकाको सहयोग जारी रहने बताएका थिए । ब्लिन्केनले जारी गरेको वक्तव्यलाई लिएर चीन सरकारले असन्तुष्टि जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।