काठमाडौं । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।