काठमाडौँ —वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा चरम लापरबाही गरेको भेटिएको छ । श्रम मन्त्रालयद्वारा सूचीकृत २ सय १२ वटामध्ये ६७ वटा स्वास्थ्य संस्थाले मापदण्ड उल्लंघन गरी श्रमिकहरूको स्वास्थ्य परीक्षणमा चरम लापरबाही गरेको भेटिएको हो ।
श्रमिकहरूको स्वास्थ्य परीक्षणको गुणस्तरमा सुनिश्चितता प्रदान गर्न भन्दै श्रमले गत भदौ १२ मा उपसचिवको नेतृत्वमा विशेषज्ञसहितको अनुगमन टोलीलाई काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिर रहेको स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्न पठाइएको थियो । अनुगमन टोलीले स्वास्थ्य परीक्षणमा चरम लापरबाही देखिएको औंल्याएको छ ।
अनुगमनमा श्रमिकको स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट तयार गर्ने गरिएको खुलेको हो । ‘सी ग्रेडको ल्याब सञ्चालन स्वीकृति पाएको भए पनि ल्याबको मापदण्ड पूरा छैन । न ल्याब कर्मचारी नै छन् । बाटोमा भेटिएका मान्छेलाई समातेर प्राविधिक देखाइएको छ । परीक्षणबिना नै स्वास्थ्य जाँचको रिपोर्ट तयार गरिएको भेटिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ती स्वास्थ्य संस्थाहरूसँग पर्याप्त ठाउँ पनि छैन । मैसिन औजार छैन, भएका पनि सञ्चालनमा छैनन् । अधिकांश मेडिकलमा मेसिन औजारका नाममा कम्प्युटर र प्रिन्टर मात्रै चालु अवस्थामा छन् ।’
श्रम मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्डलाई कार्यान्वयन गराउन असफल ६७ वटा स्वास्थ्य संस्थाहरूको कारोबार रोक्का गरिदिएको छ । तर, तिनै मापदण्ड उल्लंघन गर्ने स्वास्थ्य संस्थाहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आफूले जारी गरेको स्वास्थ्य जाँच प्रतिवेदन अपलोडका लागि पहुँच दिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दबाब दिँदै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिई श्रम मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरूले मात्रै वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था छ । स्वास्थ्य संस्थाले परीक्षण गरेका श्रमिकको स्वास्थ्य जाँच उत्तीर्ण भएको प्रतिवेदन फेमिसमा अपलोड गरेपछि मात्रै श्रम स्वीकृति जारी हुन्छ । – हाेम कार्की, कान्तिपुरबाट साभार