काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई-मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा सोमबार एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् ।
निजगढ–कामाठाडौंतर्फको एक दशमलव छ सय ५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए । लेनडाँडामा रहेको निजगढ–काठमाडौंतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौं–निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । तीन दशमलव तीन सय २२ किमीको निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौं–निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।