तनहुँमा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । १ भदौमा एक हजार ८२ जनामा संक्रमण देखिएकोमा अहिले एक हजार तीन सय २३ जनामा संक्रमण पुष्टि भएको हो । 

छ दिनमा दुई सय ४१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । उनका अनुसार तनहुँको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा संक्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच-पाँच जनामा डेंगी पुष्टि भएको  छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेंगी संक्रमण देखिएको सूचना अधिकारी कँडेलले बताए । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म संक्रमितको संख्या शून्य छ । 

संक्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उनले जानकारी दिए ।

डेंगी संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ । 

बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यर्होर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।