Saturday, July 25, 2026
Home मुख्य समाचार व्यापारीलाई पार्टी भवन बनाउन दिनेबारे एमालेमा विवादः नेतृ पाण्डे भन्छिन्, २८ लाख...

व्यापारीलाई पार्टी भवन बनाउन दिनेबारे एमालेमा विवादः नेतृ पाण्डे भन्छिन्, २८ लाख मतदाताको अपमान भयो

एमाले अध्यक्ष तथा प्रधानमन्त्री दम्पती र भाटभटेनीका मालिक दम्पत्ती संयुक्त रुपमा पार्टी कार्यालयको शिलान्यास गर्दै । तस्बीरः शंकर पोखरेलको फेसबुक

काठमाडौँ २८ असोज । भाटभटेनी सुपरस्टोरका मालिक व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने विषयलाई लिएर एमालेभित्रै विवाद सुरू भएकाे छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरिसकेका छन् । तर उक्त विषय अहिले विवादको उत्कर्षमा छ ।

एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारीबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् ।

पाण्डेले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत व्यापारीले पार्टी कार्यालय भवन बनाईदिने विषयको विरोध गरेकी हुन् । उनले ‘यो कामलाई पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ ।

व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनले बताएकी छन् । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ स्थायी कमिटी सदस्य पाण्डले भनेकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।