काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका तीनवटा परमाणु क्षेत्रमा भएका आक्रमणलाई लिएर अमेरिकाभित्रै विरोध सुरु भएको छ । कैयौं रिपब्लिक नेताहरुले ट्रम्पको तारिफ गरेका छन् भने केही डेमोक्रेट र रिपब्लिकन सांसदहरुले यो निर्णयलाई असंवैधानिक र खतरनाक बताएका छन् ।

रिपब्लिकन सांसद थोमस मेसीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो आक्रमण संविधानविपरीत छ ।’ यस्तै डेमोक्रेटिक सांसद सारा ज्याकब्सले इरानमाथि गरिएको आक्रमण असंवैधानिक र अमेरिकालाई यसले एक अन्तहीन युद्धतर्फ धकेल्ने टिप्पणी गरेकी छन् ।

यता रिपब्लिकन सांसद एन्डी ह्यारिसले यसलाई ‘शक्तिको माध्यमबाट शान्ति’ रुपमा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘परमाणु हतियारले पूर्ण इरान अमेरिका, इजरायल र पूरै स्वतन्त्र विश्वका लागि खतरा हो ।’

रिपब्लिकनकै सांसद डन बेकनले पनि ट्रम्पले अमेरिकाको रक्षा गरिरहेको बताएका छन् । यस्तै सिनेटर लिन्डसे ग्राहमले आक्रमणलाई सही निर्णय बताउँदै अमेरिकी वायुसेनाको प्रशंसा गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।