काठमाडाैं । कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न प्रपञ्च गर्ने मन्त्रीसँग जग्गा बिचाैलियामा जाेडिएका सुजन लामा नेकपा एमालेकाे सदस्य रहेकाे खुलेकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीसँग लामाले गरेको घुस डिलको अडियाे सार्वजनिक भएको थियो । उक्त अडियाे प्रयाेगशालाबाट पनि पुष्टि भईसकेकाे छ ।
लामा मात्र हैन भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी पनि एमालेकै नेता हुन् ।
सुजन लामा २०८० असोजमा भएको एमाले गण्डकीको अधिवेशनमा प्रदेश कमिटी सदस्यको उम्मेदवार बनेका थिए ।
एमाले कास्कीले मन्त्रीसँग विचौलियाको काम गर्ने सुजन लामाको विषयमा मिडियामा समाचार आएपछि सदस्यता नविकरण नगर्ने निर्णय गरेकाे छ । पोखरामा केही दिन अघि भएको भेलामा वक्ताहरुले घुस डिलमा मुछिएका भूमि मन्त्री बलराम अधिकारीमाथि कारवाही हुनुपर्ने माग पनि गरेका छन् ।
भेलामा बोल्ने एमाले कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण थापा र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले घुस डिलमा जोडिएका राजकुमार गुप्ताले राजीनामा दिएको र बलरामले पनि राजीनामा दिनुपर्ने तर्क गरेका थिए ।
उनीहरुले घुस डिलमा संलग्नमाथि अनुसन्धान गरी कारवाही गर्नुपर्ने बताएका थिए ।







