काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ ।
बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छनौट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार सो कम्पनीलाई छनौट गरिएको आशयपत्रको सूचना जारी गरेको छ । अब एक साताभित्र उक्त कम्पनी उपर उजुरी नआए सोही कम्पनीले १० वटा कम्पनीको लेखापरीक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यससँगै उक्त कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र २ लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रूपैयाँ) भुक्तानी पाउने छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सुझाव तथा सहयोगमा नेपालका ठूला १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न लागेको हो ।






