काठमाडौँ । सरकारले दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गर्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रुथ सोसल’ लाई भने चलाएको छैन । बिहीबारदेखि फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याटसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रुथ सोसल’ भने नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको बैठकले सूचीकरणमा सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि ठुला चर्चित प्लेटफर्मदेखि नामै नसुनिएका सामाजिक सञ्जालसम्म बन्द हुने भएका छन् । तर ट्रम्पकै नेतृत्वमा सुरु भएको माइक्रो ब्लगिङ प्लेटफर्म ट्रुथ सोसललाई सरकारले अहिलेसम्म नियमनको दायरामा ल्याएको छैन ।
नेपालमा पनि ट्रुथ सोसल सञ्चालन हुँदै आएको छ । उक्त एपले सूचीकरणका लागि नेपालमा निवेदन नै दिएको छ । तर, सरकारले उक्त सोसललाई बन्द गर्न निर्देशन समेत दिएको छैन ।
सन् २०२१ मा अमेरिकी संसद क्यापिटोल हिलमा भएको हुलदङ्गापछि फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पलाई प्रतिबन्ध लगाएपछि उनले आफ्नै नेतृत्वमा ट्रुथ सोसल सुरु गरेका थिए । सुरुमा अमेरिका(युरोपमा उपलब्ध यो प्लेटफर्म पछिल्लो समय नेपालमा समेत डाउनलोड गर्न सकिने बनेको हो ।







