काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी पुस्ताका युवाहरूको माग बमोजिम प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गर्नुपर्ने समय आएको बताए । शुक्रबार नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गरेको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गरिनुपर्दछ । संविधानलाई सर्वस्वीकार्य बनाउन जरुरी छ ।’ जनताले आफ्ना अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै राजनीतिक पार्टी र शासकीय असक्षमताका कारण संविधान दिवस खण्डहरमा मनाउनुपरेको समेत नेता शर्माले बताए ।

ठुलो त्याग र बलिदानबाट निर्मित संविधानले सङ्घीयता, धर्मनिरपेक्षता,गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता र सामाजिक न्यायसहित जनताको मौलिक अधिकारलाई आत्मसात गरेको भएपनि त्यसको पूर्ण रूपमा कार्यान्वयन भने हुन नसकेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।