काठमाडाैं । भिजिट भिसा प्रकरणमा सरकारका सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलाई भने प्रतिवादी बनाएकाे छैन ।
तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन गृह सचिव दुवाडीसहितका उच्च अधिकारीविरुद्ध छुट्टै अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ । भिजिट भिसामा जानेबाट रकम असुलेको कसुरमा पहिलो चरणमा ७ जनाविरुद्ध मुद्दा दायर गरिएको र अन्य अधिकारीहरू विरुद्ध थप अनुसन्धान भइरहेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत बिहीबार मुद्दा चलाएको छ ।
मुख्य प्रतिवादी बनाइएका भट्टराईविरुद्ध ७९ लाख ८० हजार बिगो, त्यति नै जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ । कार्यालय प्रमुख भएका कारण उनलाई थप ३ वर्ष कैद सजाय पनि मागदाबी छ ।
अर्यालविरुद्ध भने ८ लाख बिगो र त्यति नै जरिवाना तथा २ देखि ४ वर्षसम्म कैद सजाय दाबी गरिएको छ । यस्तै, मतियारका रूपमा प्रतिवादी ग्रिनलाइन होलिडेज ट्राभलका प्रमुख बालकृष्ण खड्काविरुद्ध ३० लाख २० हजार र फेमिली होलिडेज ट्राभल्सका सञ्चालक राम खड्काविरुद्ध ३० लाख २० हजार बिगो, त्यति नै जरिवाना असुल र ४ देखि ६ वर्षसम्म कैद हुनुपर्ने माग छ ।
फेमिली होलिडेज ट्राभल्सका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार बिगो र त्यति नै जरिवाना तथा २ वर्षदेखि ४ वर्षसम्म कैद सजाग मागदाबी छ । बिचौलियाद्वय कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध जनही ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ । उनीहरूलाई बिगो, बिगो बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।
भट्टराई विमानस्थल अध्यागमन प्रमुख रहेका बेला भिजिट भिसामा नेपालबाट १ लाख ५३ हजार ९ सय ७४ जना उडेका थिए । तीमध्ये यूएईमा २३ हजार २ सय ४९, ओमानमा ७ हजार १ सय ६१, कतारमा २ हजार ७ सय १९ जना गएका थिए ।







