बाढी प्रभावित क्षेत्रमा टेलिकमले निःशुल्क सेवा

सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको छ ।

टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावितलाई दुई दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र प्रतिदिन २ जिबी डेटा उपलब्ध गराइएको छ ।

साथै, एनसेलले पनि तीन दिनका लागि भ्वाइस, एसएमएस र डेटा नि:शुल्क गरेको जनाएको छ ।

यसैगरी प्रभावितहरुको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहित ट्यांकर काठमाडौँबाट परिचालन गरिएको छ ।

भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।

नेपाली सेनाका अनुसार सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं।१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।