Saturday, September 12, 2026
28.1 C
Kathmandu
Home प्रवास बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग

बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी लेदो तथा भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि बेल्जियमका विभिन्न सहर तथा विश्वविद्यालयले ८० हजार युरो आर्थिक सहयोग घोषणा गरेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा तत्काल राहत तथा मानवीय सहयोग आवश्यक देखिएसँगै बेल्जियमका स्थानीय सरकार तथा विश्वविद्यालयहरू सहयोगमा अघि आएका हुन्।

बेल्जियमको गेन्ट सहरले २० हजार युरो आपत्कालीन राहत अनुदान उपलब्ध गराएको छ। गेन्टका उपमेयर हाफसा एल–बाजीउईको सचिवालयले गेन्टस्थित नेपाली समाजका अध्यक्ष घनश्यामलाई पठाएको औपचारिक पत्रमा उक्त सहयोगबारे जानकारी दिइएको छ।

गेन्ट सहरले उपलब्ध गराएको रकम ‘कन्सोर्टियम १२–१२’ मार्फत बाढीपीडितको उद्धार तथा राहतमा खर्च गरिने जनाएको छ।

त्यस्तै, ल्युभेन सहरले २० हजार युरो मानवीय सहयोगका लागि छुट्याएको छ। उक्त रकम रेडक्रस–फ्ल्यान्डर्समार्फत प्रभावित क्षेत्रमा परिचालन गरिनेछ।

बेल्जियमकै प्रतिष्ठित केयू ल्युभेन विश्वविद्यालयले पनि बाढीपीडितका लागि २५ हजार युरो सहयोग घोषणा गरेको छ। विश्वविद्यालयले उक्त रकम एमएसएफ/डाक्टर्स विदाउट बोर्डर्स (Artsen zonder Grenzen) र रेडक्रसलाई बराबर बाँडेर प्रत्यक्ष उद्धार तथा राहत कार्यमा पठाउने जनाएको छ।

यस्तै, एन्त्वर्पेन सहरले १५ हजार युरो आपत्कालीन सहयोग छुट्याएको छ। यो रकम पनि कन्सोर्टियम १२–१२ मार्फत बाढीपीडितको उद्धार तथा राहतमा प्रयोग गरिनेछ।

यसरी गेन्ट, ल्युभेन, केयू ल्युभेन र एन्त्वर्पेनबाट मात्रै कुल ८० हजार युरो, अर्थात् नेपाली रुपैयाँमा करोडौँ बराबरको सहयोग घोषणा भएको छ।

बेल्जियमको सिन्त निकलास नगरपालिकाले पनि बाढी पीडित राहतको लागि ५००० युरो सहयोग गरेको छ। उक्त रकम रेडक्रसमार्फत नेपाल पठाइने छ। बेल्जियमको ब्रुज नगरपालिकाले पनि सहयोग गर्ने जनाएको छ। उसले कति रकम सहयोग गर्ने भन्ने विषय भने खुलाएको छैन ।

यो सहयोग रकमभन्दा पनि महत्वपूर्ण कुरा—नेपालमा आएको विपत्तिमा युरोपको स्थानीय सरकारदेखि विश्वविद्यालयसम्मले चासो देखाउँदै मानवीय सहयोगका लागि हातेमालो गर्नु हो। यसले नेपालमा भएको विपत्तिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता पनि देखाएको छ।

एकातिर नेपालमा बाढी र पहिरोको पीडा, अर्कोतिर हजारौँ किलोमिटर टाढाको बेल्जियमबाट राहतको हात—मानवीयताको सीमा हुँदैन भन्ने यो एउटा सुन्दर उदाहरण बनेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।